३१ बैशाख २०८३, बिहिबार 1778812220
फिचर

दुर्लभ वन्यजन्तुको वासस्थान

पाटेबाघ, एकसिङे गैँडा, हाब्रे (रेड पान्डा), हिउँचितुवा, जङ्गली भैँसी (अर्ना) लगायतका वन्यजन्तु विश्वमा दुर्लभ मानिन्छन् तर नेपालमा पछिल्लो समयमा सञ्चालन भएका संरक्षणका कामले यिनको वासस्थानमा सुधार आएको छ । आहार प्रजाति र आहार वन, वनस्पतिको राम्रो व्यवस्थापन हुँदा संसारमा दुर्लभ मानिएका वन्यजन्तुका लागि नेपाल क्रीडास्थल बन्न पुगेको छ । पछिल्लो समयमा बाघको वासस्थान सुधार गर्न बाँके राष्ट्रिय निकुञ्जको घोषणा गरेर बाघको सङ्ख्या वृद्धि भएको छ । पर्सा वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्ज घोषणा गरिएको छ । बाघ र एकसिङे गैँडाको वासस्थान व्यवस्थापन गर्न पर्सा राष्ट्रिय निकुञ्जलाई हल्खोरीया दहसम्म विस्तार गरिएको छ । 

हिउँचितुवा र हाब्रे संरक्षणका लागि उच्च हिमाली क्षेत्रलाई विशेष कार्ययोजनासहित संरक्षणका गतिविधि सञ्चालन भइरहेका छन् । पश्चिममा अपिनाम्पा संरक्षण क्षेत्र घोषणा गरिएको छ भने अन्नपूर्ण, गौरीशङ्कर तथा मनासलु संरक्षण क्षेत्र हुँदै कञ्चनजङ्घा क्षेत्रलाई समुदायस्तरमा संरक्षणका गर्ने जिम्मेवारी दिई जैविक विविधताको संरक्षणका काम भइरहेको छ । बाघको सङ्ख्या पछिल्ला १० वर्षमा दोब्बर गर्न नेपाल सफल भएको छ । सन् २००९ मा १२१ रहेको बाघको सङ्ख्या सन् २०२२ मा ३५५ पुगेको छ । एकसिङे गैँडाको सङ्ख्या त्यत्तिकै मात्रामा वृद्धि भएको छ । सन् २०२१ को गणना अनुसार गैँडाको सङ्ख्या ७५२ पुगेको छ । केही दिनअघि मात्र नेपालले हिउँचितुवाको सङ्ख्या सार्वजनिक गरेको छ । उच्च हिमाली क्षेत्रमा पाइने हिउँचितुवाको सङ्ख्या ३९७ पुगेको तथ्याङ्क नेपालले सार्वजनिक गरेको छ । 

आगामी कार्यदिशा 

२०४६ सालपछि प्राकृतिक स्रोतको संरक्षणमा स्थानीय समुदायको प्रत्यक्ष सहभागिता रहने नीतिमा नेपालले निकै सफलता हासिल गरेको छ । मुलुकभरका २२ हजार सामुदायिक वनमा ४० लाखभन्दा बढी उपभोक्ता समेटिएको सामुदायिक वन कार्यक्रम विश्व समुदायका लागि नयाँ अभ्यासको थालनी भएको छ । यसलाई अझ बढी व्यवस्थित गर्न नीति तथा कार्यक्रम सञ्चालन हुनु पर्छ । वनजङ्गलको संरक्षण त भएको छ, आगामी दिनमा वनस्रोतलाई स्थानीय समुदायको जीविकोपार्जनसँग जोडेर मुलुकको समृद्धिको सारथि बनाउने काम गर्न आवश्यक छ । जडीबुटी, पर्यापर्यटनको विकास गरी काठजन्य उद्योगधन्दाबाट फाइदा लिन सक्नु पर्छ । निकुञ्जवरिपरिका मानव–वन्यजन्तु द्वन्द्व घटाउनका लागि भइरहेका प्रयासले सार्थक प्रतिफल दिन सकिरहेका छैनन् । त्यसैले मानव वन्यजन्तु–द्वन्द्व घटाउनका लागि थप र ठोस कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।