४ आश्विन २०८१, शुक्रबार 1726875550
पालिका

नेकपा एसका केन्द्रीय नेतालाई दयनीय भोट

ओखलढुंगा – गठबन्धनमा कांग्रेस र माओवादीले अपमान गरेको गुनासो गर्दै आएको नेकपा एकीकृत समाजवादीका एकजना केन्द्रीय सदस्य गठबन्धनबिना एक्लै गाउँपालिका अध्यक्षको चुनाव लड्न जाँदा जम्मा १६० मत पाएका छन् ।ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षमा सबै दल एक्ला एक्लै लड्दा नेकपा एसबाट केन्द्रीय सदस्य तथा जिल्लाका स्थापित नेता नेत्र भट्टराई अध्यक्षको उम्मेदवार थिए । ९ वटा वडा रहेको लिखु गाउँपालिकामा हेबिवेट नेता भट्टराईले पाएको मत भने दयनीय रह्यो ।

उनले एउटा वडामा एक मत पनि पाउँन सकेनन् भने अरुमा कम्तीमा एकदेखि बढीमा ७४ सम्म मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पालिका अध्यक्षक्षमा कांग्रेसका अशोक कार्की ३७७६ मतसहित विजयी हुँदा एमालेका मिलन विष्टले ३४९२, माओवादी केन्द्रका एकिन्द्रराज कटुवालले ९३३, नेशनल मंगोल अर्गनाइजेशनका दावा शेर्पाले ३७, राप्रपाका बुद्धवीर पौडेलले १० र स्वतन्त्र उम्मेदवार राजनकुमार सुवेदीले १० मत पाएका छन् ।उपाध्यक्ष एमालेकी अस्मिता थापा ४११६ मतका साथ विजयी हुँदा कांग्रेसकी प्रेमकुमारी दाहालले ३०८३,माओवादीकी बिमला भट्टराईले ८४४ र नेकपा एसकी पूर्णकुमारी बुढाथोकीले १२५ मत पाइन् । उपाध्यक्षको भन्दा ४६ मत नेत्र भट्टराईले पाएका छन् ।

गठबन्धनमा हेपिएपछि
गठबन्धनमा छलफल चल्दा लिखु गाउँपालिका नेकपा एसले आफूले पाउनुपर्ने अडान नछाडेका कारण जिल्लामा गठबन्धन हुन सकेन । जिल्लामा अन्य कारणले गर्दा गठबन्धन नभएको भनिए पनि नेकपा एसका केन्द्रीय सदस्य नेत्र प्रसाद भट्टराईको गृहपालिका समेत भएका कारण पार्टीले गाउँपालिका अध्यक्षको दाबी गरिरहेको थियो ।

सत्ता साझेदार अन्यदलहरुले यो कुराको वेवास्ता गर्दै जिल्लामा गठबन्धन नगरी मित्रवत् प्रतिस्पर्धामा उत्रने सहमती गरे र सबै दलले सबै स्थानीय तहमा आ(आफ्ना उम्मेदवार उठाए । नेकपा एसले सिद्धिचरण नगरपालिका र लिखु गाउँपालिकामा दाबी गरिरहेको थियो । पछि नेकपा एसलाई बाहिर राखेर कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए अन्य पालिकामा ।

नेत्र भट्टराई लिखु क्षेत्रका मात्र नभएर जिल्लाकै पूराना र इमानदार कम्युनिष्ट हुन् । उनी नेकपा एमालेको जिल्ला कमिटी उपाध्यक्ष थिए । २०५४ मा उनी एमालेबाट जिल्ला विकास समितिको सदस्य पनि भए । पार्टी विभाजनपछि उनी नेकपा एसतिर लागेका थिए । यदि एमालेमा थिए भने उनी अध्यक्षका सर्वसम्मत उम्मेदवार हुन्थे र अध्यक्ष जित्ने पनि निश्चित थियो ।

तर, नेकपा एसबाट उठ्दा पार्टीको केन्द्रीय सदस्य तहको नेताको मत कमजोर देखिएको छ । भट्टराईलाई गाउँपालिकामा रहेका ९ वटा वडाबाट जम्मा १६० मत आएको छ । उनलाई सबैभन्दा बढी वडा नं। ९ बाट ९४ मत आएको छ भने वडा नं। १ मा उनलाई एक मत पनि आएको छैन ।

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका भट्टराईले आफ्नै वडामा चौथो मत अर्थात ५६ ल्याएका छन् भने संगठन बलियो भनिएको वडा नं। ८ मा समेत उनलाई ६ मत मात्र प्राप्त भएको छ । उनले वडा नं। २ मा एक, ३ मा पाँच, ४ मा १३ मत, ५ मा ३ मत र वडा नं। ७ मा ९ मत प्रप्त गरेका थिए ।