काठमाडौं । पछिल्लो समय नेपालका ट्रेकिङ रुटहरू जीवन र उत्साहले भरिएका छन्। पूर्वको कञ्चनजंघादेखि पश्चिमको अपी बेसक्याम्पसम्म अनि इलामदेखि दोधारा चाँदनीसम्मै अहिले पर्यटकको घुइँचो छ । यी पर्यटकमध्ये धेरैजसो आन्तरिक र केही विदेशी छन् । यो दृश्यले नेपालको पर्यटन क्षेत्रमा आशालाग्दो सम्भावना देखाएको छ । उसो त चार वर्षअघि मात्र कोभिड महामारीले नेपालको पर्यटन क्षेत्रलाई थला पारेको थियो। आर्थिक मन्दीले लाखौंलाई बेरोजगार बनायो।
दुई वर्षपछि बल्लतल्ल पर्यटन क्षेत्र उठ्न संघर्ष गर्यो । विस्तारै विस्तारै गर्दै एकै वर्षमा झन्डै १२ लाख जनासम्म विदेशी पर्यटक भित्रिएका थिए । तर, गत भदौको २३ र २४ गते भएको जेनजी आन्दोलन र यसकै आडमा भएका अराजक गतिविधि, लुटपाट र आगजनीले देशका अन्य क्षेत्र जस्तै पर्यटन क्षेत्र पनि समस्यामा पर्यो । हिल्टन र ह्यात रिजेन्सी जस्ता पाँचतारे होटलमा आगलागी भयो, केही दिन विमानस्थल बन्द भयो । हजारौँ कैदी भागे र प्रहरीका हतियार लुटिए । यस्ता घटनाले गर्दा नेपाल घुम्न आउने योजनामा रहेकाहरू पछि हट्न बाध्य भए । तर, व्यवसायीलाई नै अचम्ममा पार्नेगरी दुई महिनामै पर्यटन क्षेत्र लयमा आउन थालेको छ । ‘देश त बर्बादै भयो’ भन्ने भाष्यको बीचमै सन् २०२५ को शरद ऋतुमा, देशभरका पदमार्गहरू पर्यटकको भीडले भरिएका छन्। पोखराको फेवातालमा पर्यटकहरू हाँसोमजाक गर्दै बोटमा चढिरहेका छन्। चितवनका जंगलमा सफारीमा रमाइहेका छन् । लुकेलाको विमानस्थलमा विदेशी पर्यटक खचाखच छन्। व्यवसायीले भन्न थालेका छन्, ‘यी पर्यटकहरु मात्र होइनन्, यो आशाको उज्यालो हुन्,जसले निराशाको बादल चिरेर अर्थतन्त्रलाई नयाँ जीवन दिइरहेको छ।’
संख्या थोरै तर आशालाग्दो
नेपाल पर्यटन बोर्डका अनुसार भर्खरै सकिएको अक्टोबर महिनामा १ लाख २८ हजार भन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । यो गत वर्षको भन्दा ३ प्रतिशतले धेरै हो । त्यति ठूलो आन्दोलन सकिएको २ महिनामै रिकभरी हुनुलाई सरोकारवालाले खुसीको खबर भनेका छन् ।यस्तै, सेप्टेम्बरमा ७८ हजार ७ सय ११ पर्यटक नेपाल घुम्न आएका थिए । यो संख्या २०२४ सेप्टेम्बरको तुलनामा १८.३ प्रतिशत कम हो । जेनजी आन्दोलनपछि नेपाल असुरक्षित भएको भन्दै घुम्न आउन बुकिङ गरेका पर्यटकले सेप्टेम्बरको बुकिङ धमाधम रद्द गरेका थिए । तर यस्तो जटिल अवस्थामा पनि यति धेरै पर्यटक आउनु निराशा नभई आशाको कुरा भएको व्यवसायीहरु बताउँछन् । होटल एसोसिएस अफ नेपाल (हान) का अध्यक्ष विनायक शाह भन्छन, ‘अहिले एकदमै निराशा हुनुपर्ने अवस्था छैन। अवस्था सधैँ एउटै हुन्छ भन्ने छैन, अहिलेको अवस्थामा यो संख्या ठिक हो । यसभन्दा थप बिग्रनु हुँदैन ।’
विदेशीसँगै आन्तरिक पर्यटकको लर्को
नेपाल पर्यटन बोर्डका अनुसार, २०२५ को अक्टोबरमा पोखरामा पर्यटकीय क्षेत्रको अकुपेन्सी ८५ प्रतिशत पुगेको छ, जसमध्ये ६० प्रतिशत आन्तरिक पर्यटकको योगदान छ । पोखराका ताल, मन्दिर, गुफा, जिपलाइन, बन्जी, प्याराग्लाइडिङ जस्ता सबैजसो पर्यटकीय क्षेत्र भरिभराउ छन् । चितवन राष्ट्रिय निकुञ्जमा सफारी बुकिङहरू दुई गुणा वृद्धि भएका छन्। थारु संस्कृतिको मजा दिँदै स्थानीय गाइडहरू भन्छन्, ‘नेपाली पर्यटकले हाम्रो संस्कृति बुझ्छन्, विदेशीभन्दा बढी सम्मान गर्छन्।’ लुम्बिनीमा बौद्ध तीर्थयात्रीहरूको आगमनले स्थानीय बौद्ध विहारहरू जीवन्त भएका छन्।ट्रेकिङ रुटहरूमा त झन् धेरै पर्यटक भेटिन्छन् । अन्नपूर्ण पदमार्गमा मात्रै असोजपछि १५ हजार भन्दा धेरै ट्रेकर पुगेका छन्, जसमध्ये ५० प्रतिशत आन्तरिक छन् । मकालु, कञ्चनजङ्गा, मुन्धुम, सगरमाथा, च्छो रोल्पा, लाङ्लाङ, मनास्लु, अन्नपूर्ण सर्किट, अपी लगायतका मुख्य ट्रेकिङ रुट भरिभराउ छन। ट्रेकिङ एजेन्सीका अनुसार, ‘पहिले विदेशी मात्र, अहिले नेपालीहरूले पनि लामो ट्रेक गर्छन्।’ लाङ्टाङ र मनास्लु रुटहरूमा आन्तरिक पर्यटकको संख्या ४० प्रतिशत भन्दा माथि छ।
नेपाल पर्यटन बोर्डको अनुमान अनुसार आन्तरिक पर्यटकको संख्या २०२४ को तुलनामा ३० प्रतिशत बढेको छ। तर आन्तरिक पर्यटकको तथ्यांक कुनै पनि निकायले नराख्ने भएकाले ठ्याक्कै संख्या भन्न सक्ने अवस्था भने छैन । होटल व्यवसायीहरूका अनुसार, शरद सिजनमा ट्रेकिङ रुटहरूमा विदेशीको तुलनामा नेपाली पर्यटकको संख्या ७० प्रतिशत पुगेको छ। यो क्रमले होटेल, स्थानीय, यातायात व्यवसायी सबैलाई लाभ पुर्याइरहेको छ । आन्तरिक पर्यटकको यो वृद्धिले होटेल अकुपेन्सी दरलाई ७५ प्रतिशत माथि पुर्याएको छ। पोखरा र चितवन जस्ता स्थलहरूमा आन्तरिक पर्यटकको संख्या अन्तर्राष्ट्रियभन्दा दोब्बर छ।
यो वृद्धिको पछाडि युवा पुस्ताले यात्रालाई ‘सेल्फ-केयर’ को रूपमा लिएको रुपमा बुझिन्छ । सोसल मिडियामा #VisitNepal #MyNepalTravel जस्ता ह्यासट्याग सहितका लाखौं पोस्टहरू छन्। यो प्रवृत्तिले नेपाली पर्यटनलाई वर्षभरि जीवन्त राखेको छ। पहिले मात्र शरद र वसन्तमा सीमित थियो, अहिले वर्षातमा पनि जंगल सफारी र साहसिक खेलहरूमा पर्यटक बढेका छन्।
मनाङको खाङ्सारका एक लज मालिक भन्छन्, ‘नेपाली पर्यटकले हाम्रो खाना, संस्कृति मन पराउँछन्। विदेशीले त फास्ट फूड खान्छन्।’ पर्यटककै कारण अन्नपूर्ण क्षेत्रका स्थानीयहरूको आय ४० प्रतिशत बढेको छ। चितवनको थारु समुदायका एक गाइड भन्छन्, ‘चितवनमा आन्तरिक पर्यटकले हाम्रो नाचगान सिक्छन्, पैसा पनि दिन्छन्।’
चितवनमा दर्जनौँ होमस्टेहरू सञ्चालनमा छन्, जसले स्थानीय महिलालाई सशक्त बनाएको छ। सौराहको पौरखी होमस्टेकी सञ्चालक सुमित्रा चौधरीले भनेकी छिन्, ‘पर्यटक आएपछि हाम्रो होमस्टेमा बस्ने मात्रै होइन यहाँका स्थानीयले बनाएका हस्तकलाका सामान पनि किनेर लैजान्छन् ।’त्यस्तो अवस्थाबाट चाँडै तङ्ग्रिँदैछौँ : विनायक शाह, अध्यक्ष – होटल एसोसिएसन अफ नेपाल (हान)
पर्यटन क्षेत्र उकासिँदा सबैभन्दा धेरै लाभ पाउने क्षेत्र क्षेत्र होटल हो, पर्यटन क्षेत्र कमजोर हुँदा घाटा खाने क्षेत्र पनि होटल नै हो । अहिले देशभरका होटलको अकुपेन्सी ७० प्रतिशत भन्दा माथि पुगेको छ । आन्तरिक पर्यटकले हामीलाई स्थिरता दिएका छन्। किनकी, विदेशी सिजनल हुन्छन्, नेपाली वर्षभरि आउँछन्।आन्दोलन पश्चात मान्छेहरुले के हो, कसो हो भन्दै बुझेर मात्रै बुकिङ गर्न थालेका छन् । आफु जाने ठाउँमा आफुले खोजेका कुरा गर्न पाइन्छरपाइन्न, शान्ति सुरक्षा के छ सबैले हेरिहाल्छन्। एक महिना अघिको तुलनामा आजको दिनमा निकै नै सुधार छ। जो पर्यटकहरु नेपालमा हुनुहुन्छ, आउनुभएको छ, उहाँहरुले आफुले गर्न खोजेको कुरा, रोजेको कुरा, खान खोजेको कुराहरुमा कुनै कुनै समस्या छैन । पर्यटकलाई त जेनजी आन्दोलनभन्दा अघि र अहिलेको अवस्थामा कुनै फरक परेको छैन ।
अर्को राम्रो पक्ष के छ भने, यो सिजन नेपाल आउन बुकिङ गर्नेहरु धेरै हुनुहुन्छ। अहिले केही पश्चिमा देशहरूले नेपालमा ट्राभल एजभाइजरी जारी गरेको अवस्थामा पनि यो बुकिङ र आगमन सकारात्मक छ ।
नराम्रो पक्ष के छ भने, जेलबाट भागेका कैदी र प्रहरीबाट लुटिएका हतियारका कारण केही पर्यटकले असुरक्षित महसुस गरेका छन् । ठूला ट्राभल एजेन्सीहरूको सेक्युरिटी प्रोटोकलले यस्ता कुरालाई गम्भीर रुपमा हेर्छ । यो कुराले भने केही गाह्रो बनाएको छ । अर्को कुरा, अहिले पर्यटकले नेपाल भ्रमणको योजना क्यान्सिलेसन भन्दा पनि ‘वेट एण्ड सी’ अर्थात् होल्डमा राखेका छन् । अहिले नआए पनि अब केहि छैन, पछि आउने भनेर धेरै पर्यटक कुरेर बसिरहेका छन् ।
विदेशी कम भएपनि आन्तरिक पर्यटकले देशका पर्यटकीय स्थल भरिएका छन् । पछिल्ला केही दिन मौसमले केही डिस्टर्ब गरेपनि अब मौसम खुल्यो भने झन धेरै नेपालीहरु घुम्न जाने अनुमान छ। किनकी सबैजसो उच्च स्थानमा हिउँ परेको छ । नेपालीहरू हिउँमा रमाउन माहिर छन् । केही समय पहिले मुस्ताङमा पर्ययटक थेगिनस्कनु भएकाले पालिकाले होटल बुकिङ गरेर मात्रै आउन भनेका थिए । बिस्तारै हामी एकदम सुधारमा छौँ ।
अहिले चाहे विदेशी हुन् या स्वदेशी सबै पर्यटक मन लागेको ठाउँमा घुम्न पाएका छन् । मन लागेको खान पाएका छन्, कुनै रोकटोक छैन । यहाँको अवस्था ठिक छ, आउनुहोस् मज्जाले घुम्नुहोस्, अरु हजारौँ पर्यटक मज्जाले घुमिरहेका छन् भनेर हामीले जतिसक्यो धेरै प्रचारप्रसार गर्नुपर्छ । हामीले विश्वभर यो सन्देश पुर्याउन सक्यौँ भने झन धेरै पर्यटक भित्राउन सक्छौँ ।
एक महिनामै हामी पुरानै अवस्थामा फर्कन थालेका छौँ : मणिराज लामिछाने, बरिष्ठ निर्देशक, नेपाल पर्यटन बोर्ड
जेनजी आन्दोलन र त्यसपछिको तोडफोड, लुटपाट र आगजनीका कारण सेप्टेम्बरको ८ तारिखदेखि धमाधम बुकिङ क्यान्सिल हुन थालेको थियो । यसले हामी सबैलाई अत्याएको थियो । तर एक हप्तामै अवस्था केही सहज भयो र क्यान्सिल हुने क्रम रोकियो ।त्यसपछि हामीले हामीले नेपालमा आन्दोलन भएपनि अरु अवस्था ठिक छ, पर्यटक सुरक्षित छन् भन्नेबारे विश्वभर म्यासेज पर्यायौँ । विभिन्न पर्यटकीय ठाउँको लाइभ गर्यौँ, पर्यटकहरूसँग अन्तरवार्ता गरेर लाइभ गर्यौँ । उनीहरुले सकारात्मक कुरा गरे।
#Neaplnow #IamInNepalNow जस्ता पोस्टर बनायौँ र नेपाल आएका पर्यटकलाई फोटो खिचेर सामाजिक सञ्जालमा लगाउने काम भयो । पर्यटकहरू नेपाल घुमिहेका छन् भन्ने माहोल बन्यो । यसले पनि राम्रो सन्देश दिन सफल भयौँ ।
सेप्टेम्बरमा नेपाल आउने पर्यटकको संख्यामा लगभग २० प्रतिशतले कमि आयो । तर अक्टोबरबाट नर्मल हुन थालेको छ । एक महिनामै यसरी सुधार हुन्छ भन्नेमा हामी सशंकित नै थियौँ तर सुधार भयो ।
क्यान्सिल गर्नेहरूले पनि फेरि बुकिङ् गर्ने थालेका छन् । अक्टोबरमा सगरमाथा क्षेत्रमा गत वर्षको भन्दा ६ हजार भन्दा धेरै पर्यटक पुगेको पाइएको छ । गत अक्टोबरमा १२ हजार ३ सय १४ जना सगरमाथा क्षेत्रमा पुगेकोमा यो अक्टोबरमा १८ हजार ५ सय जना पुगेका छन् ।
अर्थतन्त्र चलायमान बनाउने क्षेत्र
अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण क्षेत्रहरूमध्ये पर्यटन क्षेत्र अग्रस्थानमा पर्दछ। विश्व यात्रा तथा पर्यटन परिषद् (डब्ल्यूटीटीसी) को तथ्यांकअनुसार, नेपालको पर्यटन क्षेत्रले २०२५ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ६ प्रतिशत हाराहारी प्रतिशत योगदान दिनेछ ।प्राकृतिक सुन्दरता, धार्मिक–सांस्कृतिक विविधता र साहसिक गतिविधिका कारण नेपाल विश्वकै आकर्षक पर्यटन गन्तव्यका रूपमा परिचित छ। यही कारणले पर्यटन क्षेत्रले नेपालको आर्थिक विकासमा ठुलो योगदान पुर्याइरहेको छ।
पर्यटनबाट विदेशी मुद्राको उल्लेखनीय आम्दानी हुने गर्दछ। सगरमाथा, अन्नपूर्ण, लुम्बिनी, पशुपतिनाथ, चितवन राष्ट्रिय निकुञ्जजस्ता स्थलहरू हेर्न हरेक वर्ष लाखौँ विदेशी पर्यटक नेपाल आउँछन्। उनीहरूले होटल, यातायात, खाना–पानी, स्मारिका खरिद लगायतमा खर्च गर्ने रकमले देशको राजस्व बढाउँछ। यसले आयात–निर्यात सन्तुलनमा पनि सहयोग पुर्याउँछ।
यससँगै पर्यटनले रोजगारीका प्रशस्त अवसर सिर्जना गरेको छ। गाइड, पोर्टर, होटल तथा रेस्टुरेन्टका कर्मचारी, यातायात व्यवसायी, हस्तकला उत्पादकदेखि किसानसम्म पर्यटनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न छन्। ग्रामीण क्षेत्रका युवाहरूले आन्तरिक पर्यटनमार्फत आफ्नै गाउँमा रोजगार पाएका छन्, जसले गाउँको आर्थिक अवस्था सुधार गरेको छ।
पर्यटनले नेपालको सांस्कृतिक सम्पदाको संरक्षण र प्रचारमा पनि टेवा पुर्याएको छ। स्थानीय परम्परा, कला, नाच–गान, पोशाक र भोजन विदेशी पर्यटकलाई आकर्षित गर्ने माध्यम बनेका छन्। यसले राष्ट्रिय पहिचान मजबुत बनाइरहेको छ। पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डजस्तै बनेको छ। यसले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजार विस्तार र सांस्कृतिक सम्पदाको संरक्षणमार्फत देशको समग्र विकासलाई अगाडि बढाइरहेको छ।
तथ्यांककै कुरा गर्दा, पर्यटन तथा सम्बन्धित गतिविधिहरूले जीडीपीमा करिब ६ प्रतिशत योगदान दिएको छ भने प्रत्यक्ष र अप्रत्यक्ष गरेर १० लाख भन्दा धेरै रोजगारी सृजना गरेको अनुमान छ । होटेल तथा रेस्टुराँ व्यवसायहरुले मात्र पनि नेपालको जीडीपीमा करिब २ प्रतिशतको योगदान पुर्याएका छन् भन्ने तथ्यांक छ। विदेशबाट आउने पर्यटक तथा पर्यटनसँग सम्बन्धित गतिविधिहरुले नेपाललाई विदेशी मुद्रा सञ्चितीमा पनि महत्वपूर्ण रुपमा दिएको छ। उदाहरणका लागि, आर्थिक वर्ष २०८१/८२ मा अन्तर्राष्ट्रिय पर्यटकका माध्यमबाट ८८ अर्ब ६६ करोड रुपैयाँ नेपाल भित्रिएको थियो ।
निराशाबीचको आशा
जेनजी आन्दोलनपछि झन्डै दुई महिनामै पर्यटन क्षेत्र फेरि लयमा फर्किनु नेपालका लागि आशाको संकेत बनेको छ। आन्दोलनका कारण ठप्पजस्तै बनेको आर्थिक गतिविधि पुनः सक्रिय हुन थालेको छ। होटल, रेस्टुराँ, ट्राभल एजेन्सी र यातायात व्यवसाय पुनः चलायमान भएका छन्। विदेशी तथा आन्तरिक पर्यटकहरूको आगमनले स्थानीय बजारमा उत्साह ल्याएको छ। यसले निराशाको वातावरणमा पनि सम्भावनाको उज्यालो देखाएको छ । नेपालको पर्यटन क्षमता अझ जीवित र सबल रहेको प्रमाण बनेको छ। अब सरकार र निजी क्षेत्रले सहकार्य गरी यो गति दीगो बनाउनु आवश्यक छ।


