मोरङ । झापा, उदयपुर र सुनसरीको विभिन्न स्थानहरूबाट कार्तिक २८ गते प्रतिबन्धित लागुऔषधसहित १० जना पक्राउ परेका छन् । झापाको वडा प्रहरी कार्यालय भद्रपुरले देवराज श्रेष्ठलाई २ ग्राम ६० मिलिग्राम, राम कुमार मौलीलाई ३ ग्राम २० मिलिग्राम, सुफर मडीलाई ५ सय २० मिलिग्राम र अनुप महतोलाई ९ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
यसैगरी, अस्थायी प्रहरी पोष्ट कोठु, उदयपुरले प्रकाश नेपालीलाई ६०० ग्राम गाँजासहित नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानले सनम तामाङलाई ३ ग्राम ३३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानले बराहक्षेत्र-४ का सुनिल गिरीलाई लागूऔषध ट्रामाडोल ८२ क्याप्सुल र स्पास्पेन १९९० ट्याब्लेटसहित नियन्त्रणमा लिएको छ।
यसका साथै, सामुदायिक प्रहरी बिट हवाइ चौकले लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा ट्रामाडोल ६० क्याप्सुल र डिकोलिक १० ट्याब्लेटसहित यनि लिम्बु, रिवाज राई र सुजन राईलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


