काठमाडौं । विवादित व्यक्ति इनाम सापकोटासँग जोडिएको विषयमा प्रहरीले महेश श्रेष्ठलाई पक्राउ गरेको छ । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइसमेत रहेका महेशलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी दानबहादुर थापाले महेशलाई पक्राउ गरिएको पुष्टि गरे । सापकोटासँग सम्बन्धित विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको थापाले जानकारी दिए ।
‘सबै कुरा अहिले खुलेको छैन । इनाम सापकोटासँगको इस्युमा उहाँलाई पक्राउ गरेर ल्याउँदैछौँ,’ एसपी थापाले भने । प्रहरी स्रोतका अनुसार इनाम सापकोटा र महेश श्रेष्ठबीच नियमित सम्पर्क तथा बैंकिङ कारोबारसमेत देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउको कारण र उनीहरूको सम्बन्धबारे विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन । एसपी थापाले अहिले पक्राउ मात्रै गरिएको र थप विषय अनुसन्धानपछि खुल्ने बताए । प्रहरीले यस प्रकरणमा थप अनुसन्धान अघि बढाएको छ ।


