काठमाडौं, ७ मंसिर । नेकपा (एमाले)का नेता महेश बस्नेत सवार गाडीमा विराटनगरमा रातो मसी फ्याँक्ने दुई युवा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का सदस्य रहेको खुलेको छ ।
उच्च सुरक्षा सतर्कताबीच आइतबार विराटनगर ओर्लिएका बस्नेतको गाडीमाथि विमानस्थल परिसरमै विरोधस्वरूप रातो मसी छ्यापिएको थियो ।
नेता बस्नेत र भानुभक्त ढकाल सवार गाडी विमानस्थलबाट बाहिरिने क्रममा मसी फ्याँकेको आरोपमा प्रहरीले दुई जनालाई तत्काल नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विराटनगर–१ का सन्जोग गौतम र विराटनगर–२ का अर्पित कुँवर छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले शान्ति सुरक्षाको स्थिति सामान्य राख्न र थप घटना हुन नदिन ती युवालाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनीहरूमाथि मुद्दा चलाउने वा नचलाउने भन्नेबारे प्रहरीले निर्णय गरिसकेको छैन ।
बस्नेतको विरोध विराटनगरमा मात्र सीमित रहेन । उनी इटहरी जाने क्रममा सुनसरीको दुहबी खण्डमा पनि युवाहरूको समूहले कोसी राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार सडकमा टायर बालेर विरोध गरिए पनि बस्नेत सवार गाडीलाई भने कुनै अवरोध भएन । बस्नेतको टोली सुरक्षित रूपमा इटहरी पुगिसकेको छ ।
राष्ट्रिय युवा संघ नेपाल, कोसी प्रदेशले आयोजना गरेको ‘जागरण सभा तथा जेनजी पुस्तासँग अन्तर–संवाद’ कार्यक्रममा सहभागी हुन बस्नेत र ढकाल इटहरी आएका हुन् ।


