काठमाडौं, ७ मंसिर । नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले कांग्रेस, एमाले र माओवादी केन्द्रले आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा मुलुक चरम भ्रष्टाचार र परिणामविहीन अवस्थामा पुगेको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टी राष्ट्रिय एकता घोषणा सभालाई सम्बोधन गर्दै शर्माले उक्त कुरा बताए । यी तीन पार्टी लामो समय सत्तामा रहे पनि सामाजिक विभेद, प्रशासनिक सुधार र विकासका आधारभूत मुद्दाहरूलाई पर्याप्त प्राथमिकता नदिँदा मुलुक असफल बन्न पुगेको आरोप लगाए ।
प्रमुख राजनीतिक दलहरूले सुशासन र संरचनागत सुधारमा अपेक्षित परिणाम दिन नसकेको उनको टिप्पणी छ । मुलुकको विकासका लागि नीतिगत र प्रणालीगत पुनर्संरचना गर्नुको सट्टा मौजुदा संरचनाको दुरुपयोग गर्दै मुलुकलाई थप बर्बादीतर्फ धकेलेको उनको आरोप छ ।
शर्माले पार्टीगत हितलाई भन्दा दीर्घकालीन संस्थागत सुधार, पारदर्शिता र उत्तरदायित्वमा ध्यान दिन सबै राजनीतिक शक्तिहरू जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याए ।


