काठमाडौँ । पूर्व जलस्रोतमन्त्री दीपक ज्ञवालीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था नेपालका लागि घातक हुने टिप्पणी गरेका छन् । शनिबार जेनजी एलाइन्स फर मोनार्कीले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले त्यो खालको शासन व्यवस्था आए मुलुक नरहन सक्ने अवस्था आउने चेतावनी समेत दिए । जलस्रोतविद् समेत रहेका ज्ञवालीले सो शासन व्यवस्था ल्याउने प्रस्ताव राख्नेहरुले मुलुकलाई निरंकुशतामा धकेल्ने प्रयास गरिरहेको जिकिर गरे । उनले सो शासन व्यवस्थाको बहसमा खरो ढंगले उत्रन आवश्यक रहेको पनि औँल्याए ।
पूर्वमन्त्री ज्ञवालीले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी । त्यो जतिको खतरनाक नेपालमा केही पनि हुँदैन । त्यो लेण्डुपदोर्जे र जेलेन्सकी जन्माउने प्रपञ्च हो । अप्रत्यक्ष हुँदा त देखिहाल्नु भयो, कस्ता कस्ता रहेछन यहाँ ओली र देउवा । अब प्रत्यक्ष भएको भएदेखि त के गर्थे होलान । यिनी त जेलेन्सकी र लेण्डुपदोर्जे हुन्थे होला । यिनीहरुले भारतमा लगेर मिसाईदिउँ भने कसैले बोल्ने ठाउँ नै हुने थिएन ।’
उनले थप भने, ‘चाहिएको के हो भने यहाँ शक्ति पृथकीकरण र चेक एण्ड ब्यालेन्सलाई कसरी बलियो बनाउने हो । नेपालमा स्थिर सरकार आउनका लागि अरु नै उपायहरु छन । यसले स्थिर सरकार ल्याउँदैन, निरकंशता जन्माउँछ । यो बहसमा हामी अघि बढि नै ओर्लनुपर्ने हुन्छ । नत्र देशनै हिँडने स्थिति आउन सक्छ ।’ त्यस अवसरमा पूर्वमन्त्री ज्ञवालीले केपी ओली र शेरबहादुर देउवाहरुले नै मुलुकलाई कमजोर बनाएको आरोप समेत लगाए ।


