काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आज बुधबार बिहान १० बजे शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० लाख कित्ता शेयर निष्काशन गरेको थियो। यसमा ६२ हजार ९ सय ६८ जनाको आवेदन परेको थियो । जस मध्ये ६२ हजार ९ सय ४७ जनाको आवेदन मात्र योग्य भएको छ।
जस मध्ये १० कित्ताको लागि मात्र आवेदन दिने २० हजार ६५ जनाले १० कित्ता नै शेयर पाएका छन् । २० कित्ता भन्दा माथिको लागि आवेदन दिने ४२ हजार ८ सय ८२ जना मध्येबाट ३७ हजार ५३ जनाले २० कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता मात्र शेयर पाएका छन् । अर्थात् आवेदन दिने योग्य आवेदक सबैले शेयर पाएका छन् ।
कम्पनीले मङ्सिर ७ गतेदेखि मङ्सिर १० गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरेको हो। नेपाल धितोपत्र बोर्डले कार्तिक २४ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। कम्पनीले २ अर्ब बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो ।
यस कम्पनीले सोलुखुम्बुमा ८२ मेगावाट क्षमताको लोवर सोलु जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८२ साउन २४ गतेदेखि व्यापारिक उत्पादन थालेको छ । सोलु हाइड्रोपावर लिमिटेड त्रिवेणी ग्रुप अन्तर्गतको कम्पनी हो। यस कम्पनीमा त्रिवेणी ग्रुप, विशाल ग्रुप, गोयल ग्रुप, राठी ग्रुप, विद्या ग्रुप र जैन ग्रुपको लगानी छ ।
कम्पनीमा गोबिन्दलाल संघाईको ८.१६ प्रतिशत, नितेश अग्रवालको ७.०९ प्रतिशत तथा राम चन्द्र संघाईको ४.९३ प्रतिश्सत शेयर लगानी रहेको छ। सुवाष चन्द्र संघाई कम्पनीका अध्यक्ष् हुन् । सुरुमा कम्पनीमा भारतीय कम्पनी एसेल इन्फ्राप्रोजेक्ट्स लिमिटेडको बहुमत स्वामित्व रहेकोमा पछि नेपाली शेयरधनीहरुले लिएका हुन् ।


