८ जेष्ठ २०८३, शुक्रबार 1779441766
Banner

एमाले महाधिवेशनः मतदानका लागि उम्मेदवार र प्रतिनिधि लाइनमा

काठमाडौं-नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान गर्न महाधिवेशन प्रतिनिधि लाइनमा बसेका छन्। यसअघि मंगलबार नै हुने भनिएको मतदान बुधबार सरेपछि समयमा मतदानका लागि प्रतिनिधि लाइन बसेका हुन्।

निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग हुँदा समस्या देखिएपछि उक्त समस्या समाधान गरेर आज मतदान हुन लागेको हो। 

मतदानस्थल भने परिवर्तन भएको छ। भृकुटीमण्डपको हल बुधबारका लागि अरूले नै भाडामा बुकिङ गरिसकेको हुनाले एमालेले बन्द सत्र भएकै स्थानमा मतदान गर्ने भएको छ। विद्युतीय मेसिनबाट मतदान हुन लागेको हो ।

मतदानको लागि ८० वटा मेसिन राखिएको छ। रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट हुने मतदानमा कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् । 

जारी महाधिवेशनबाट एक अध्यक्ष, ५ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ९ जना सचिव साथै ३०१ जना केन्द्रीय सदस्य चयन हुनेछन्।