पुस २ गते । नेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्र्तगत आज पाँचौ दिनमा मतदान जारी छ । नेतृत्व चयनका लागि जारी मतदानको समय साँझ ८ बजेसम्म थप गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

यसअघि साँझ ५ बजेसम्मका लागि तोकिएको मतदान समयलाई संशोधन गरी समय थप गरिएको उहाँको भनाइ छ । अहिले ७ बजेसम्म ९०४ जनाले मतदान गरिसक्नुभएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार साँझ ८ बजेसम्म मतदान केन्द्रभित्र प्रवेश गरिसकेका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्न पाउनेछन् । मतदानमा सहभागी हुने प्रतिनिधिहरुको सहजताका लागि प्रतिनिधिहरूलाई टोकन प्रणालीमार्फत मतदानस्थलमा प्रवेश गराउने व्यवस्था मिलाइएको छ ।
मतदान केन्द्रमा एक पटकमा ५० जनासम्म प्रतिनिधिहरूलाई भोट हाल्न पठाइने व्यवस्था गरिएको छ । एक जना प्रतिनिधिलाई मतदान गर्न ४० देखि ५० मिनेट समय लाग्ने भएपछि मतदान प्रक्रिया लम्बिएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
नेकपा एमालेको यस ११ औं महाधिवेशनमा अध्यक्षसहित ३०१ सदस्यका लागि मतदान हुँदैछ ।


