काठमाडौँ । मोरङ र बागलुङमा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिका–४ कासिजामस्थित सडकमा मे.११ प १४० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्री सोही नगरपालिका–४ बस्ने ६२ वर्षीय जयराम
प्रसाद दासको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको रंगेली अस्पताल रंगेलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको मकालु अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
त्यस्तै बागलुङको बागलुङ नगरपालिका–४ कुंडुलेस्थित सडकमा ध.१ च. १३३६ नम्बरको जिपको ठक्करबाट पैदल यात्री काठेखोला गाउँपालिका–१ धैरेनी बस्ने शिवप्रसाद शर्माको ५ वर्षीय छोरा सूर्य ढुङ्गानाको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते
भएका उनको धौलागिरि प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।


