काठमाडौं । झण्डै चार वर्ष लामो आन्तरिक विवाद र विभाजनको अन्त्य गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं महाधिवेशन ऐतिहासिक एकतासहित सम्पन्न भएको छ । मार्च १४, १५ र १६ मा आयोजित महाधिवेशनले संस्थालाई पुनः एउटै धारमा ल्याउँदै नयाँ नेतृत्व चयन गरेको हो ।
यस एकताका पछाडि पूर्वअध्यक्ष आरके शर्मा, विनोद कुँवर, निवर्तमान अध्यक्ष महेश श्रेष्ठ, बद्री केसी लगायतका अभियन्ताको निरन्तर प्रयास, संयमता र संस्थाप्रतिको गहिरो समर्पण निर्णायक कारकका रूपमा देखिएको छ । पहिला यिनै पात्रहरुले जानेर नजानेर टुक्रीएको संस्था पुनः यिनै पात्रका कारण एक बनेको छ ।
विभाजनको चरम अवस्थामा समेत शर्माले व्यक्तिगत स्वार्थभन्दा संस्थागत हितलाई प्राथमिकतामा राख्दै सबै पक्षलाई संवादमा ल्याउने अभियान निरन्तर चलाइरहे । चार वर्षसम्म चलेको विवादले एनआरएनएलाई कमजोर, विभाजित र अन्योलग्रस्त बनाएको थियो । विभिन्न समूहबीचको अविश्वास, असहमति र नेतृत्व संघर्षले संस्थाको साखमै प्रश्न उठिरहेको बेला यसपटक गुटउपगुट छाडेर आरके शर्माले एकताको सूत्रधारको भूमिका निर्वाह गरे । उनले निरन्तर संवाद, समन्वय र सहमतिमार्फत टुटेका सम्बन्धहरू जोड्ने काम गरे ।
दशौं महाधिवेशनदेखि सुरु भएको विवाद समाधान गर्ने क्रममा उनले सबै पक्षलाई समेट्ने प्रयास गरेका थिए । एघारौं महाधिवेशनसम्म आइपुग्दा पनि सहमतिका आधारमा अघि बढ्ने पहल भए पनि ती पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा विवाद झन् गहिरिएको थियो । यद्यपि, उनले आफ्नो अभियानलाई कहिल्यै रोकाएनन् ।
पछिल्लो चरणमा सर्वोच्च अदालतको परमादेशपछि बनेको कार्यसमितिमा समेत उनले एकतालाई प्राथमिकतामा राख्दै सबै पक्षलाई एउटै मञ्चमा ल्याउने प्रयासलाई निरन्तरता दिँदै आफूले पाएको अध्यक्ष महेश श्रेष्ठका नाममा सहमति गरेर एकताको एक चरण पार गरेका थिए । अन्ततः त्यही दीर्घकालीन धैर्य र प्रतिबद्धताको परिणामस्वरूप १२ औं महाधिवेशन एकताको सन्देशसहित सफल भएको हो ।
महाधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्षमा डा. हेमराज शर्मा, वरिष्ठ उपाध्यक्ष रोविन शेरचन, प्रथम उपाध्यक्ष खगेन्द्र न्यौपाने, महासचिव डा. चिरञ्जीवी खड्का, कोषध्यक्ष कृष्णप्रसाद तिमल्सिना लगायत कार्यसमिति निर्वाचित भएका छन् ।
नयाँ नेतृत्वसँग अब विश्वभर छरिएका लाखौं गैरआवासीय नेपालीहरूको अपेक्षा जोडिएको छ । विशेषगरी विभाजित राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूलाई पुनः एकताबद्ध गर्दै संस्थालाई सशक्त बनाउने चुनौती नेतृत्वसामु रहेको छ ।
यस ऐतिहासिक एकतामा शर्माजस्तै सबै पक्षले आफ्नो अहंकार, दम्भ र व्यक्तिगत स्वार्थ त्याग्दै संस्थालाई बचाउने साझा लक्ष्यलाई प्राथमिकता दिएका थिए । यसले एनआरएनएभित्र परिपक्व राजनीतिक संस्कारको सन्देश दिएको छ ।
पूर्वअध्यक्ष आरके शर्माले यस उपलब्धिलाई सामूहिक प्रयासको परिणाम भन्दै सम्पूर्ण गैरआवासीय नेपालीप्रति आभार व्यक्त गर्दै फाटिएका मन एक हुन सबै समूहलाई आग्रह गरेका छन् । उनले संस्थाको विविध गतिविधि,आरोह अवरोह र एकताको प्रक्रियामा आफ्नो शब्द वा व्यवहारबाट कसैको मन दुखेको भए क्षमायाचना समेत गरेका छन् ।
एनआरएनएको यो एकता केवल संगठनात्मक पुनर्मिलन मात्र नभई विश्वभर रहेका नेपालीहरूको मन, भावना, विश्वास र साझा पहिचानको पुनर्जागरणका रूपमा हेरिएको छ । यसलाई नडगमगाउन शर्माले विश्वभर रहेका नेपालीलाई आग्रह गरेका छन् ।


