काठमाडौं : प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै कांग्रेससहित ६८ सांसदले गरेको हस्ताक्षरसहितको पूरक रिटमा आज सुनुवाइ हुँदैछ । कांग्रेसका ६५ र अन्य दलका सांसदको हस्ताक्षरसहितको पूरक रिट मङ्गलवार सर्वोच्च अदालतमा वारेसमार्फत दर्ता गरिएको थियो । सांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहितको वारेस दिएका थिए । प्रतिनिधिसभा पुनस्र्थापनाका लागि कांग्रेसबाहेक अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका छन् ।
उनीहरूले सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा पुगेर हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल छन् । एमालेका ७५ सांसदहरूले यसअघि नै प्रतिनिधिसभा पुनस्र्थापना माग्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन् ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ तथा सांसदहरू दीपक खड्का, जावेदा खातुन जागा, सिता राना, आशा बिक, शान्ति बिक, नागिना यादवले रिट दायर गरिसकेका छन् । एमालेले मङ्सिर १० गते र कांग्रेसका सांसदहरूले मङ्सिर २३ गते रिट दर्ता गरेका थिए । अहिलेको हस्ताक्षर बुझाइएपछि पुनस्र्थापनाको काम गर्ने बहुमत सांसद पुग्छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसदको आवश्यक पर्छ । अहिले हस्ताक्षर बुझाउने २ दलका सांसदको सङ्ख्या जोड्दा १४३ हुन्छ ।


