काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति राजनीतिक दलहरूले समानुपातिक उमेदवारको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आग्रह गरेको छ ।
आयोगले शनिबार (पुस १२) विज्ञप्ति जारी गर्दै यही पुस १३ र १४ गते अपराह्न ४ बजेसम्म विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरी उमेदवारको बन्दसूची पेस गर्न अनुरोध गरेको हो ।
उमेदवारको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेपछि वा त्यसअघि राजनीतिक दलले सर्वसाधारणलाई सार्वजनिक गर्न सक्ने आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
एक्ँ
“समानुपातिक निर्वाचनमा भाग लिन इच्छुक दलहरूले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, नियमावली, २०७४, र प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ मा तोकिएका विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरी मात्रै उमेदवारको सूची तयार गरी तोकिएको समयभित्र पेस गर्नुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।


