मङ्सिर १ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा लुम्बिनीले २० बल बाँकी छँदै लक्ष्य पूरा गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ ओभर चार बलमा चार विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा निरोशन डिकवेलाले अविजित ५९ रनको अर्धशतकीय पारी खेले । उहाँले ३७ बलको सामना गर्दै तीन छक्का र सात चौका प्रहार गर्नुभयो । कप्तान रोहितकुमार पौडेलले २१ रन बनाउनुभयो ।
सुदूरपश्चिमका थरिन्दु रत्नायकेले दुई तथा स्कट कुगेलेन र हेमन्त धामीले समान एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०५ रन बनाएको थियो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाउनुभयो । उहाँले ५१ बलमा तीन चौका र एक छक्का प्रहार गर्नुभयो । इशान पाण्डेले ३३ बलमा २७ रन जोड्नुभयो ।
सुरुवातमै तीन विकेट गुमाएर दबाबमा परेको सुदूरपश्चिमलाई ऐरी र पाण्डेले चौथो विकेटका लागि ६४ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गर्नुभएको थियो । लुम्बिनीका रुबेन ट्रम्पलम्यानले दुई विकेट लिनुभयो । शेर मल्लले पनि दुई विकेट हात पार्नुभयो भने अभिषेक गौतम र किशोर महतोले समान एक विकेट लिनुभयो । लिग चरणमा शीर्ष स्थानमा रहेको लुम्बिनीले ११ अङ्क जोडेको थियो भने सुदूरपश्चिम १० अङ्कसहित दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको थियो । पहिलो क्वालिफायर जितेसँगै लुम्बिनीले उपाधिका लागि फाइनलमा स्थान बनाएको छ । पराजित सुदूरपश्चिमले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा अर्को अवसर पाउनेछ ।
एनपिएलको तेस्रो संस्करणको फाइनल खेल मङ्सिर ५ गते हुने तालिका छ ।


