काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) २५ अर्ब रुपैयाँ बराबरको एकवर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ । मौद्रिक व्यवस्थापनका लागि ऋणपत्र बोलकबोल प्रक्रियामार्फत निष्कासन गर्न लागिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल सोमबार मध्यान्ह २ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ । बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेका ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाहरू (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउने छन् ।
निष्कासन हुने ऋणपत्रको अवधि एक वर्षको रहनेछ भने ब्याजदर बोलकबोलबाट नै निर्धारण हुनेछ । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था गरिएको छ । न्यूनतम ५ करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणकमा बोल गर्न सकिनेछ ।
राष्ट्र बैंकले बोल स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार आफैंमा सुरक्षित राखेको जनाएको छ । स्वीकृत बोल रकम पुस १५ गते काउन्टरपार्टीको खाताबाट कट्टा गरी सोही दिन ऋणपत्र निष्कासन गरिनेछ । यो ऋणपत्र खुला बजार कारोबारमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ ।


