काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण बनाउन गर्न नसकेको टिप्पणी गरेका छन् । मंगलवार मोरङ समाज काठमाडौंको २६औँ वार्षिक साधारण सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले मुलुकमा निर्वाचन हुने अवस्था बने–नबनेको विषय गम्भीर प्रश्नको रूपमा उभिएको बताएका हसन् ।
। सबै राजनीतिक दलहरुले समानुपातिकतर्फको सूचि बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन ? अहम् प्रश्न रहेको उनको भनाइ छ । उनले नेपाली कांग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै सरकारले त्यसको लागि वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले निर्वाचनमा शान्ति–सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी प्रहरी प्रशासनको भएको उल्लेख गर्दै हाल प्रहरीको मनोबल अत्यन्त खस्किएको बताए । नेता कोइरालाले २३ भदौमा भएको जेनजी आन्दोलनमाथि प्रहरी दमनको जति निन्दा गरेपनि कम हुने बताए ।
यद्यपि २४ भदौमा भएको विध्वंशलाई सामान्य रुपमा हेर्न नहुने उनको भनाइ छ । उनले मुख्य प्रशासनिक भवन सिंहदरबारदेखि प्रादेशिक तहका संरचना र नेताका निवासहरु समेत तहसनहस पारिएको उल्लेख गर्दै जेनजीले मात्रै ६ घण्टामा मुलुकलाई खरानी बनाउन नसक्ने टिप्पणी गरे ।


