सुर्खेत । नेकपा (एमाले)का सचिव तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान सरकार फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन् ।
आज एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ सुर्खेतको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै कँडेलले सुरुमा राजनीतिक दलहरूको नाम देखाएर चुनाव सार्न चाहेको भए पनि हाल त्यो सम्भावना हटिसकेको बताए । उनले भने, “पहिला दल देखाइयो तर, अहिले सरकार आफै अन्यौल छ ।” सरकारको व्यवहारले अझै पनि चुनावप्रति स्पष्ट प्रतिबद्धता नदेखिएको उनको आरोप छ ।
“सरकार चुनाव हुन्छ भन्छ, तर हाम्रो पार्टीका अध्यक्षलाई स्थान हद तोकेर चुनावमा प्रचारप्रसार गर्न वातावरण नै बनाइँदैन भने कसरी चुनाव हुन्छ ?” उनले प्रश्न गरे । चुनावी गतिविधिमा अनावश्यक रोक लगाइनु लोकतान्त्रिक मूल्यमान्यताको विपरीत भएको उनको टिप्पणी थियो ।
मुख्यमन्त्री कँडेलले एमाले लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै चुनावको सधै सम्मान गर्ने र सहभागी हुने स्पष्ट पारे । तर, त्यसका लागि निष्पक्ष, स्वतन्त्र र भयमुक्त चुनावी वातावरण बनाउन सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।
उनले संविधानको रक्षा, आन्दोलनको रक्षा र देशका लागि पार्टीले दिएको ऐतिहासिक योगदानको स्मरण गर्दै सबै नेताकार्यकर्तालाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरे । “नेपालको लोकतान्त्रिक विरासत जोगाइराख्न एमाले एकजुट हुन आवश्यक छ,” उनले भने ।


