मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्र बसोबास गर्ने विभिन्न जातजातिका संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटन विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । तामाङ समुदायको नयाँ वर्ष तथा सोनाम ल्होसार २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संस्कृतिको जगेर्नालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे ।
सङ्घीयताको कार्यान्वयनसँगै प्रदेश सरकारले तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याइसकेको जानकारी दिँदै मुख्यमन्त्री बानियाँले यसबाट भाषाको संरक्षण र विकासमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे । सोनाम ल्होसार जस्ता पर्वले नेपालीहरूबीच आत्मीयता, आपसी समझदारी, एकता र सामाजिक सद्भाव कायम गर्न मद्दत पुग्ने उनको भनाइ छ ।
मुख्यमन्त्री बानियाँले सबै चाडपर्व र संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व भएको भन्दै यिनै सांस्कृतिक आधारबाट राष्ट्रिय एकता हासिल गरी समृद्धिको यात्रालाई संस्थागत गर्न प्रदेश सरकार दृढ सङ्कल्पित रहेको स्पष्ट पारे । उनले यस पर्वले समुन्नत प्रदेश निर्माण गर्ने अभियानमा सबैलाई उत्प्रेरणा प्रदान गरोस् भनी कामना समेत गरेका छन् ।


