काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ अभियानका अगुवा दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई सोमबार पोखराबाट पक्राउ गरिएको हो ।

यसअघि भ्रमपूर्ण अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले दुर्गा प्रसाईंलाई पक्राउ गर्न साइबर ब्यूरोलाई पत्र काटेको थियो । मेडिकल व्यवसायी प्रसाईंले अफवाह फैल्याएको भन्दै निर्वाचन आयोगले कारबाही अगाडि बढाउन निर्वाचन नेपाल प्रहरीको साइबर ब्युरोलाई निर्देशन दिएको थियो ।
आयोगबारे मिथ्या तथा भ्रामक सूचना फैलाएको भन्दै आवश्यक कारबाहीका लागि आइतबार ब्यूरोमा पत्र पठाएको थियो । शनिबार पत्रकार सम्मेलन गरेर प्रसाईंले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिँदा ५२ करोड रुपैयाँको लेनदेन भएको दाबी सहितको विवादित भिडिओ सार्वजनिक गरेका थिए ।
भिडिओ र प्रसाईंको भनाइलाई आधार बनाएर विभिन्न सामाजिक सञ्जालका पेजले भ्रामक सामग्री पोस्ट गरेपछि आयोगले कानुनी कदम चालेको थियो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले संस्थाको गरिमामा आँच पुर्याउने गरी गलत सूचना प्रवाह गरिएकाले कारबाहीका लागि आग्रह गरिएको बताएका थिए ।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले ब्यूरोमा निर्वाचन आयोगबाट पत्र आएपछि प्रसाईंको खोजी भइरहेको बताएका थिए।


