लमजुङ । नेकपा (एमाले)का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार पृथ्वीसुब्बा गुरुङले लमजुङमा विकासप्रेमी शक्तिको जित सुनिश्चित भएको दाबी गरेका छन् । बेसीशहरमा उम्मेदवारी मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै गुरुङले अपार माया, स्नेह र अभूतपूर्व जनउपस्थितिका बीच आफ्नो मनोनयन दर्ता उत्साहजनक रूपमा सम्पन्न भएको बताए ।
जनसमर्थन र उपस्थित नागरिकको उत्साहले आफूलाई लमजुङको सेवामा अझ जिम्मेवार र ऊर्जावान् भएर खटिन प्रेरणा मिलेको उनको भनाइ छ । ‘बेसीशहरमा उर्लिएको जनसागरले लमजुङमा विकासप्रेमी सूर्य ध्वजावाहकको जित सुनिश्चित छ भन्ने सन्देश दिइसकेको छ,’ उनले भने । मनोनयनका क्रममा उपस्थित भई हौसला प्रदान गर्ने सबैप्रति उनले आभार व्यक्त गरेका छन् ।
गुरुङले अबको निर्वाचन अभियान गाउँ–गाउँ र बस्ती–बस्तीमा पुग्ने उल्लेख गर्दै विगतदेखि वर्तमान र भविष्यसम्म लमजुङको मुहार फेर्ने अभियानमा जनतासँगै रहने प्रतिबद्धता व्यक्त गरे । ‘हिजो पनि साथमा थियौँ, आज पनि छौँ र भोलि पनि लमजुङ परिवर्तनको अभियानमा सँगै हुनेछौँ,’ उनले भने । नेकपा (एमाले)बाट लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका गुरुङले विकास, स्थायित्व र समृद्धिलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै चुनावी मैदानमा होमिएका छन् ।


