काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपामा सुरु हुनेछ । बैठकमा सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा होमिने विषयमा छलफल हुने बताइएको छ । कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका थिए ।
विशेष महाधिवेशनबाट नयाँ पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित भएपछि पहिलो पटक केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिलाई उपस्थित हुन निर्देशनसहित अनुरोध गरिएको छ ।


