काठमाडौँ : काठमाडौँ उपत्यकामा आज बिहानैदेखि तुवाँलो लागेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण उपत्यकामा बादल लागेसँगै तुवाँलो र चिसो बढेको हो । यसले गर्दा दृश्यता कम भएर सवारी साधन चलाउन कठिनाइ भएको छ भने बटुवाहरूले पनि जाडोको मार खेपिरहेका छन् ।
दिउँसो घाम लागे पनि तुवाँलो पूरै नहट्ने सम्भावना छ, जसले चिसो अझ बढाउने अनुमान गरिएको छ । उपत्यकामा प्रदूषण र धुलोका कारण पनि हुस्सु लामो समयसम्म कायम रहने मौसमविद्हरू बताउँछन् । तुवाँलो कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानहरूमा ढिलाइ हुनसक्ने बताइएको छ ।
तराईका जिल्लाहरूमा त झन् बाक्लो तुवाँलो र कुहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ । तराईमा दृश्यता निकै कम भएकाले सडक दुर्घटनाको जोखिम बढेको छ भने स्कुलहरूमा बिदा दिने क्रम जारी छ । मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म देशभर जाडो बढ्ने क्रम जारी रहनेछ । तत्काल वर्षाको सम्भावना नभएकाले चिसो अझ बढ्न सक्ने अनुमान छ ।


