काठमाडौं । पर्यटन व्यवसायी तथा लेखक कर्ण शाक्यको आयोजनामा सहस्र चन्द्र दर्शन तथा भीमरथारोहणको पावन अवसर पारेर बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

नेवार समुदायको मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा रहेको सहस्र चन्द्र दर्शन तथा भीमरथारोहण करिब ८१ वर्ष ८ महिना उमेर पूरा गरी जीवनकालमा एक हजार पूर्णचन्द्र देखेको अवसरमा गरिने विशेष संस्कार हो। यस अवसरमा विशेष टीका, वज्रयान बौद्ध परम्पराअनुसारका प्रार्थना, परम्परागत पोशाक तथा विभिन्न धार्मिक विधिहरू सम्पन्न गरिन्छ। ज्येष्ठ व्यक्तिलाई जीवित देवताका रूपमा सम्मान गर्दै नयाँ पुस्तालाई दीर्घायु, सुख, शान्ति र समृद्धिको आशीर्वाद प्रदान गर्ने यस संस्कारको विशेष महत्व रहेको छ।
कार्यक्रममा कर्ण शाक्यले करिब ६० वर्षअघि आफूले काम गरेको पिस कोर्प्सका साथीहरूबीचको पुरानो मित्रता र आत्मीयतालाई पुनः स्मरण गर्दै पुनर्मिलनको अवसर जुटाउनुभएको बताउनुभयो। आफ्नो पर्यटन यात्राको सुरुवाती दिनमा पिस कोर्प्सका साथीहरूले पुर्याएको सहयोग, साथ र माया जीवनभर बिर्सन नसकेको उहाँको भनाइ थियो।

जीवनको महत्वपूर्ण मोडमा आफूलाई साथ र सहयोग गर्ने पुराना साथीहरूसँग पुनः भेटघाट गर्ने, पुराना सम्झना साटासाट गर्ने र वर्षौँदेखिको मित्रतालाई अझ प्रगाढ बनाउने उद्देश्यले यो पुनर्मिलन आयोजना गरिएको उहाँले बताउनुभयो।
कार्यक्रममा विभिन्न देशबाट सहभागी हुन आएका पिस कोर्प्सका विदेशी पाहुनाहरूले पनि कर्ण शाक्यले आफूहरूलाई दिएको माया, सद्भाव, आत्मीयता र सम्मानको खुलेर प्रशंसा गरेका थिए। नेपाली आतिथ्य सत्कार, पुराना साथीहरूबीचको आत्मीय सम्बन्ध र कार्यक्रमको विशेष वातावरणबाट आफूहरू निकै प्रभावित भएको बताउँदै उनीहरूले खुसी व्यक्त गरेका थिए।

विभिन्न देशका साथीहरूबीच वर्षौँपछि भएको भेटघाट, आपसी सद्भाव र मित्रताको आत्मीय महत्वलाई समेत उजागर गरेको थियो।


