काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन तथा घृणाजन्य अभिव्यक्ति दिएको आरोपमा रास्वपाका वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ तथा स्वतन्त्र उम्मेदवार निकोलस (कमल) भुसालसँग स्पष्टीकरण माग गरेको छ।
आयोगका अनुसार बालेन शाह झापा–५, महेश बस्नेत भक्तपुर–२, हर्क साम्पाङ सुनसरी–१ र निकोलस भुसाल रूपन्देही–२ बाट उम्मेदवार रहेका छन्। उनीहरूलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको आयोग स्रोतले जनाएको छ।
बालेन शाहले सामाजिक सञ्जालमार्फत दिएका अभिव्यक्तिविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो। उजुरीमा उनले प्रमाण वा अदालतको निर्णयबिनै ‘७६ जना बच्चाको हत्यारा’, ‘आतंकवादी’, ‘देश जलाउने’ जस्ता शब्द प्रयोग गरी गम्भीर, तथ्यहीन तथा मानहानिकारक आरोप लगाएको उल्लेख छ। साथै, एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको पारदर्शी, बौद्धिक र तथ्यमा आधारित सार्वजनिक बहसको सन्दर्भमा बालेनले दिएको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको दाबी पनि उजुरीमा गरिएको छ।
त्यस्तै, एमाले सचिव महेश बस्नेतविरुद्ध पनि आयोगमा उजुरी परेको छ। बालेन शाहले जनकपुरमा दिएको भाषणमा प्रयोग गरेको ‘छौरा’ शब्दलाई बस्नेतले अनर्थ लाग्ने गरी व्याख्या गरेको आरोप छ। उजुरीमा बस्नेतको अभिव्यक्तिले मधेसी समुदायलाई अपमानित गर्ने किसिमको घृणाजन्य टिप्पणी गरेको दाबी गरिएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङमाथि निर्वाचन प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग गरेको तथा टिसर्ट लगाउन लगाएको विषयमा स्पष्टीकरण सोधिएको हो। ‘आज उहाँलाई स्पष्टीकरणको पत्र पठाइएको छ,’ आयोग स्रोतले जनाएको छ।
यसैगरी, स्वतन्त्र उम्मेदवार निकोलस (कमल) भुसालले दुईवटा चुनाव चिह्न प्रयोग गरी प्रचार गरेको पाइएपछि आयोगले चुनाव चिह्नसम्बन्धी विषयमा स्पष्टीकरण माग गरेको हो। उनले ‘जेन–जी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिह्न’ भन्दै प्रचार गरेको आयोगले जनाएको छ।
आयोगले यसपटक जम्मा सातवटा विषयमा स्पष्टीकरण सोधिएको जनाएको छ। तीमध्ये जानुका पाठकलाई उम्मेदवारमाथि ‘हत्यारा’, ‘बलात्कारी’ जस्ता शब्द प्रयोग गरी घृणाजन्य टिप्पणी गरेको विषयमा स्पष्टीकरण सोधिएको छ। साथै, स्वास्थ्य स्वयंसेवक संघले आचारसंहिता लागू भइसकेपछि अनुमति नलिई अधिवेशन गरेको तथा शिक्षक सरुवासम्बन्धी विषयमा पनि छुट्टाछुट्टै स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।


