काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय चाबहिलमा छापा मारेको छ। मंगलबार दिउँसो अख्तियारको टोलीले छापा मारेर कार्यालय प्रमुख, त्यहाँका कर्मचारी, ट्राफिक प्रहरी र ड्राइभिङ सेन्टरका कमर्चारको मोबाइल जफत गरेको हो।

सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अनुत्तीर्ण भएको ३ महिना नपुग्दै पुन: आवेदन दर्ता गरी लिखित परीक्षामा सहभागी गराएको सूचनाको आधारमा अख्तियारको टोलीले छापा मारेको थियो। आयोगका अनुसार यातायात व्यवस्था कार्यालय चाबहिलमा कार्यरत कार्यालय प्रमुखसहित अन्य कर्मचारीहरुले विचौलियामार्फत सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा अनुत्तीर्ण भएका सेवाग्राहीहरू खोजेर प्रत्येक व्यक्तिसँग ५ हजारदेखि १० हजार रुपैयाँ रकम संकलन गरी नियमविपरीत परीक्षामा सहभागी गराएका थिए।
यातायात व्यवस्था कार्यालय चाबहिल, काठमाडौंका कार्यालय प्रमुख अधिकृत (नवौं) पेशल कुमार पोखरेल समेत सोही कार्यालयका १७ जना कर्मचारीको २५ थान मोबाइल, उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौंबाट ड्युटीमा खटिएका प्रसनि डोरहरी नेपालसहित ३ जनाबाट ३ थान र नेपाल ड्राइभिङ एण्ड रिकन्डिसन सेन्टरका मेनेजर बालकृष्ण सिंहसहित ७ जनाबाट ९ थान मोबाइल बरामद गरिएको आयोगले जनाएको छ।


