काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्युत भएपछि पहिलो पटक बंगलादेशमा आम निर्वाचन सुरु भएको छ । नयाँ सरकार गठनका लागि सुरु भएको मतदान अपराह्न साढे ४ बजेसम्म चल्ने छ । बीबीसीका अनुसार १२ करोडभन्दा बढी मतदाताले मतदानमा सहभागिता जनाउँदै छन् । सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि शेख हसिना सत्ताबाट हट्नुभएकाे थियाे ।

हसिनाले देश छोडेपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो । आन्दोलनका क्रममा करिब १ हजार ४ सय प्रदर्शनकारीको ज्यान गएको बताइन्छ ।
गत नोभेम्बरमा बंगलादेशको एक अदालतले मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध फैसला सुनाएको थियो । निर्वाचनमा हसिनाको दल अवामी लिगलाई भाग लिन प्रतिबन्ध लगाइएको छ । मुख्य प्रतिस्पर्धा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) र इस्लामी दल जमात–ए–इस्लामीबीच रहेको छ । जमात–ए–इस्लामीले विद्यार्थी आन्दोलनबाट उदाएको एक नयाँ दलसँग गठबन्धन गरेको जनाएको छ ।


