झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज निजी क्षेत्रसँग अन्तरसंवाद गर्ने भएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा–५ को दमकमा दिउँसो ३ बजे अन्तरक्रिया हुन लागेको हो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)को आयोजनामा हुने कार्यक्रममा दुईवटा प्यानल डिस्कसन समेत राखिएको छ । हिसानका अध्यक्ष युवराज शर्माका अनुसार ‘नेपालको निजी क्षेत्रसँग पूर्वप्रधानमन्त्री केपी शर्मा ओली’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको छ ।
अन्तरसंवादमा निजी क्षेत्रका मुख्य ६ वटा क्षेत्रलाई समेटेर प्यानल डिस्कसन राखिएको शर्माले जानकारी दिए । निजी क्षेत्र, नीतिगत सुधार तथा युवा केन्द्रित आर्थिक रुपान्तरणका विषयमा शिक्षा, उर्जा, उद्योग व्यावसाय, स्वास्थ्य, सूचना प्रविधिका क्षेत्रमा नेपालका सम्भावना र चुनौतीका विषयमा छलफल गरिनेछ ।
प्यानल छलफलमा हिसानका पूर्वअध्यक्ष रमेशकुमार सिलवाल, इपानका अध्यक्ष गणेश कार्की, प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी, मेडिकल एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्र कार्की, आइटी उद्यमी सुलभ बुढाथोकी र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं सहभागी हुनेछन् ।प्यानलमा सहभागी वक्ताहरुले आफ्ना क्षेत्रका तत्कालीन र दीर्घकालिन समस्या र समाधानका उपाय, नीतिगत अवरोधहरु र नयाँ सरकारसँगका अपेक्षा राख्नेछन् ।
यसैगरी, जेन जेड र निजी क्षेत्रको सम्बन्धका बारेमा पनि छलफल हुने शर्माले बताए । उनका अनुसार प्यानल छलफलमा उठेका जिज्ञासा, नीतिगत अवरोध र देशले अंगालेको निजी क्षेत्रसम्बन्धी नीतिका बारेमा अध्यक्ष ओलीले आफ्ना भनाइहरु राख्नेछन् । कार्यक्रम दिउँसो ३ बजे दमक चौकस्थित गोरखा डिपार्टमेन्टको सगरमाथा हलमा आयोजना गरिएको छ । अध्यक्ष ओली आजै काठमाडौंबाट झापा आउँदै छन् ।


