कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिका धाम (मुडका)मा लाग्ने परम्परागत मेला (जाँत)को तयारी पूरा भएको छ । यही फागुन १३ र १४ गते आयोजना हुने मेलाका लागि मन्दिर परिसरमा सरसफाइ, सडक मर्मत तथा व्यवस्थापनका कार्य सम्पन्न गरिएको हो ।
वैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका अनुसार मेला व्यवस्थित र सुरक्षित बनाउन पूर्वतयारीलाई तीव्रता दिइएको छ । मन्दिर परिसरभन्दा तल्लो क्षेत्रमा व्यापारिक प्रयोजनका लागि पसल राख्न मैदान सम्याउने, झाडी सरसफाइ गर्ने र आवश्यक संरचना मिलाउने कार्य सम्पन्न गरिएको समितिले जनाएको छ ।
दर्शनार्थीको सहज आवागमनका लागि सवारीसाधन पार्किङस्थल निर्धारण गरिएको छ । “मन्दिर परिसर र त्यस आसपास क्षेत्रलाई दर्शनार्थीका लागि छुट्याएका छौँ”, समितिका अध्यक्ष पुरन हमालले भने, “मेला क्षेत्रमा मदिरा पूर्ण रूपमा निषेध गरिएको छ ।”दर्शनार्थीका सवारीसाधन आवतजावत गर्ने सडक मर्मतको कार्य अगाडि बढाइएको अध्यक्ष हमालले जानकारी दिए । खानेपानीको पनि उचित प्रबन्ध गरिएको उनको भनाइ छ । शान्ति, सुरक्षालाई प्राथमिकतामा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरिएको जनाइएको छ । मेला अवधिभर अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा व्यवस्था कडा पारिने उनले उल्लेख गरे ।


