काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा आज पनि कर्फ्यु आदेशलाई निरन्तरता दिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले शनिबार दिउँसो १ बजेदेखि लागू कर्फ्युलाई जारी राख्ने आदेश दिएका हुन्।

अत्यावश्यक कामका लागि आज बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म कर्फ्यु केही खुकुलो पारिएको छ। उक्त समयपछि अर्को आदेश जारी नभएसम्म पुनः कर्फ्यु लागू रहने प्रशासनले जनाएको छ।
शनिबार गौर–६ स्थित सनगडा गाउँमा दुई समुदायबीच उत्पन्न विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति तनावग्रस्त बनेको थियो। झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रयोग गर्नुका साथै नेपाली सेनासमेत परिचालन गरिएको थियो। घटनामा ६ मोटरसाइकल र २ जिपमा आगजनी भएको थियो।
कर्फ्यु पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बसपार्क क्षेत्र र दक्षिणमा गौर भन्सार कार्यालयसम्म लागू गरिएको छ। प्रशासनले कर्फ्यु आदेशको पालना गर्न सबैलाई आग्रह गर्दै उल्लङ्घन गरे कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।


