काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिधिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फका सांसदको नाम टुङ्गो लगाएको छ ।

आइतबार पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा सचिवालय बैठकले पार्टीले प्राप्त गरेका मतका आधारमा चयन गर्न सकिने ५७ जना समानुपातिक सांसदको नाम टुङ्गो लगाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनले खसआर्यतर्फ १७ जना, जनजातितर्फ १६ जना, दलित ८ जना, मुस्लीम ३ जना, मधेशी समूदायबाट ९ जना, थारुबाट ४ जनाको नाम टुंगो लगाइएको बताए ।
पार्टीले चयन गरेका व्यक्तिहरुको नाम निर्वाचन आयोगमा बुझाइने र आयोगले रुजु गरेपछि मात्रै नामावली सार्वजनिक गरिने उनले बताए । प्रवक्ता झाले संसदीय दलको नेताका बारेमा आन्तरिक छलफल गरिरहेको भन्दै औपचारिक रुपमा केन्द्रीय समितिको बैठकबाट आवश्यक निर्णय हुने धारणा राखे ।
उनले संसदीय दलको नेता चयनका बिषयमा रास्वपाले यसअघि गरेका प्रतिबद्धता नबिर्सिएको भन्दै तलमाथि हुने आशंका नगर्न आग्रह समेत गरे । बैठकले निर्वाचनमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने उम्मेदवारदेखि अभियान्तासम्म र सबै सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको प्रवक्ता झाले बताए ।


