काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आजको दिनसम्म मन्त्रिपरिषद्को कुनै पनि टुंगो नलागेको बताएका छन् ।

पार्टीले ललितपुरको रोयल टुलिप होटलमा सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा समापन मन्तव्य राख्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैन । हामीले तपाईंहरू सबैलाई चिनेका छौं । बलियो मन्त्रिपरिषद् बनाउँछौं ।’ त्यस्तै, लामिछानेले नवनिर्वाचित सांसदहरुलाई स्वार्थ समूहका पछि नलाग्न र कुनै पनि गुट नबनाउन निर्देशन दिए । सहिदहरूले बगाएर आएको परिवर्तनलाई आत्मसात गरेर सांसदहरुले काम गर्नुपर्ने उनले बताए ।
लामिछानेले सांसदमा निर्वाचित भएपछि भूमिका फेरिएको र अनुशासनमा बस्नुपर्ने भन्दै पार्टीले कडाइका साथ अनुशासन पालना गराउने बताए ।


