रामेछाप । सिन्धुली जिल्लामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको सुनकोशी गाउँपालिका–६ घुमाउने चैनपुरस्थित बीपी राजमार्ग सडक खण्डमा सोमबार राति करिब ९ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । प्रहरीका अनुसार चैनपुरबाट खाल्टेतर्फ आउँदै गरेको बा.प्र ०२–०२७ प ११०० नम्बरको मोटरसाइकल र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको प्र.३–०२–०१४ प ८३६० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा डल्ले माझी (अन्दाजी ४५), मन्थली नगरपालिका–६ का बासिन्दाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई आत्मीय सामुदायिक अस्पताल खाल्टेमा उपचारका क्रममा चिकित्सकले राति १०ः१५ बजे मृत घोषणा गरेका थिए । यस्तै, अर्को मोटरसाइकल चालक कैलाश तोलाङ्गे (३२) र पछाडि सवार दिपेन्द्र केसी (४९) घाइते भएका छन् । उनीहरूको दाहिने खुट्टा तथा टाउकोमा चोट लागेको बताइएको छ ।
दुवै घाइतेलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ । उनीहरूको केएमसी मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


