म्याग्दी, २९ फागुन : मालिका गाउँपालिका–४ स्थित च्युरीबोट र ओखरबोटका बासिन्दाहरुले ८४ वर्ष पुगेका अवसरमा दुई लाख ६० हजार रुपैयाँ विद्यालयलाई सहयोग गरेका छन् । चौरासी वर्ष पुगेका अवसरमा पूजाआजा र भोज भतेरमा हुने अनावश्यक तथा फजुल खर्च बचाएर उनीहरुले गाउँकै विद्यालयलाई सहयोग गरेका हुन् । च्युरीबोटका तिकप्रसाद पुन र दिलमायाले स्थानीय सिद्धार्थ माविलाई एक लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम पुनले जानकारी दिनुभयो । आज ८४ पूजा गर्नुभएका ओखरबोट निवासी टेकबहादुर घर्तिमगर र हिरामतीले ६० हजार रुपैयाँ, उहाँहरुका आफन्तहरुले थप १५ हजार रुपैयाँ ओखरबोट माविलाई उपलब्ध गराउनुभएको छ । चौरासी, बिवाह, लाहुरे स्वागत, तिहारमा देउसीभैलो खेलेर आर्थिक स्रोत जुटाएर निजी स्रोतका शिक्षकको तलब ब्यवस्थापन, कम्प्युटर कक्षा सञ्चालन, भौतिक र शैक्षिक विकासमा परिचालन गरेका छन् ।


