काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी चुनाव हारेर पनि सबैभन्दा अगाडि उठेको दाबी गर्दै अब ‘सडकको सरकार’ बनेर जनताको सेवा गर्ने उद्घोष गरेका छन् ।
बुधबार सुकेधारामा आयोजित बागमती प्रदेशस्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा राजनीतिक स्थायित्वका लागि जनताले एउटा पार्टीलाई झन्डै दुई तिहाइको बहुमत दिएकोमा त्यसलाई स्वीकार गर्ने बताएका हुन्।
उनले जनताले आफ्नो पार्टीलाई सडकमा बसेर खबरदारी गर्ने म्यान्डेट दिएकाले अब सडकबाटै आम नेपालीको मुद्दा उठाउने प्रतिबद्धता जनाए। अध्यक्ष घिसिङले देशको राष्ट्रियता, समृद्धि र जनताका समस्या समाधानका लागि सडकबाट सशक्त भूमिका निभाउने स्पष्ट पारे।
सरकारका राम्रा कामको समर्थन र गलत कामको कडा आलोचना गर्दै देशलाई सही बाटोमा हिँडाउन आफ्नो पार्टी सधैँ तत्पर रहने उनले बताए। चुनाव लगत्तै केन्द्रीय कमिटीको बैठक बसेर देशभरका उम्मेदवारसँग समीक्षा गरिसकेको जानकारी दिँदै उनले आगामी दिनका लागि नयाँ कार्यदिशा तय गरिसकेको उल्लेख गरे।
पार्टीले सातै प्रदेशमा भेला आयोजना गर्ने कार्यतालिका सार्वजनिक गर्दै उनले बागमतीपछि चैत १४ गते मधेस प्रदेशमा कार्यक्रम हुने जानकारी दिए। प्रदेश भेला सकिएपछि जिल्ला, पालिका र वडा तहसम्म पुगेर सङ्गठन विस्तार गर्ने अभियान सुरु भइसकेको उनले बताए।
स्थापनाको छोटो समय र संगठनको अभावका बिच पनि चुनावमा जनताले दिएको मत र मायालाई उनले उच्च सम्मान गर्ने बताए। चुनावका बेला जनताको घरदैलो र मोबाइलसम्म पुग्न नसकेको स्वीकार गर्दै अबको एक वर्षभित्र उज्यालो नेपाल पार्टीलाई देशकै सशक्त शक्तिको रूपमा स्थापित गर्ने उनले दाबी गरे।
विगतमा डिजिटल मिडिया क्याम्पेन र प्रचारप्रसारमा केही कमजोरी भएको महसुस गर्दै अब हरेक नागरिकको हातमा पार्टीको एजेन्डा पुर्याउने उनले बताए। आगामी स्थानीय तह र प्रदेशको चुनावमा पार्टीले उल्लेख्य उपस्थिति जनाउने भन्दै उनले कार्यकर्तालाई अनुशासित र मर्यादित भएर सङ्गठन निर्माणमा लाग्न निर्देशन दिए। घनिभूत छलफलपछि पार्टीले ठोस निष्कर्ष निकाल्ने र देशभरि नयाँ उत्साहका साथ अगाडि बढ्ने उनले विश्वास दिलाए।


