काठमाडौँ : गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभामा सहज बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले शुक्रबार १२ बजेर ३४ मिनेट जाँदा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरूले बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
तर, सरकारले नयाँ आएको प्रतिनिधिसभा र अविच्छिन्न रूपमा रहने राष्ट्रिय सभासहितको संघीय संसद्को अधिवेशन आह्वान गरेको छैन । संघीय संसद्को अधिवेशन आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने कानुनी प्रावधान छ । अहिलेसम्म सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संघीय संसद्को अधिवेशन आह्वान गरेको छैन ।
प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय नभएको जानकारी दिए । ‘मन्त्रिपरिषद् बैठक बस्ने तय भएको छैन । अब आउने सरकारले नै गर्ला,’ रावलले भने ।
अधिवेशन आह्वानका लागि मन्त्रिपरिषद् बैठकले निर्णय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्छ ।
यसअघि चैत १६ गतेका लागि संघीय संसद्को अधिवेशन आह्वान गर्ने चर्चा चलेको थियो । कार्की नेतृत्वको सरकारले अधिवेशन आह्वान नगर्ने भएपछि चैत १६ गते संघीय संसदको अधिवेशन आह्वान हुने सम्भावना सकिएको छ ।
अधिवेशन आह्वान गर्दा एक साताको समय दिएर गर्नुपर्ने प्रावधान भएकाले चैत १६ गते अधिवेशन आह्वान हुने सम्भावना सकिएको हो ।
संसद् अधिवेशनका लागि सरकारले ‘बिजनेस’ दिनुपर्छ । वर्तमान अन्तरिम ‘आउट गोइङ’ सरकारले बिजनेस तय गर्ने कुरा नभएकाले नयाँ सरकार आएपछि बिजनेस तय गरेर बैठक बोलाउने प्रक्रिया सुरु गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।


