काठमाडौं । गत शनिबार जीवनमै पहिलो पटक बनारस पुग्दै गर्दा मनमा अनेकौँ उत्सुकता, श्रद्धा र आस्था बोकेर काशी विश्वनाथ धाम प्रवेश गर्ने सुअवसर प्राप्त भयो । भगवान् भोलेनाथको पवित्र धाममा पाइला टेक्दाको अनुभूति नै शब्दमा बयान गर्न नसकिने थियो। तर त्यहाँ पुगेर जब काशी विश्वनाथ धाममा नेपाली पुजारी आचार्य टेकनारायण उपाध्यायज्यूसँग भेट भयो, त्यो क्षण मेरो यात्राकै सबैभन्दा अविस्मरणीय र भावुक क्षण बन्यो।
विदेशी भूमि, भारतको प्रसिद्ध आध्यात्मिक धरोहरमा आफ्नै देश नेपालका व्यक्तित्वलाई यति गरिमामय जिम्मेवारीमा देख्दा मन गर्वले भरियो। एकछिन त विश्वास नै लागेन, अझ सजिलो बाटोहुँदै मन्दिरको भित्रै सम्म पुग्ने व्यवस्था मिलाएर जब शिवको ज्योतिरलिङ्ग छुनुहोस भन्दै हामीलाई भएभरका बेलपत्र, माला, चन्दन हातमा थमाइदिनुभयो मैले त एकैछिन के भइरहेको छ भन्ने भेउ नै पाउन सकिन । आफनै देशको पशुपतिनाथ मन्दिरमा पनि त्यति राम्रोसँग पुजाआजागर्न नसकेका हामीहरुले विदेशी भुमिको त्यति पवित्र ठाँउमा भगवानको चरणमै पुगेर दर्शन गर्न सक्यौं । र त्यो सम्भब बनेको थियो मात्र नेपाली पुजारी आचार्य टेकनारायण उपाध्याय गुरु भएकै कारणले ।
बाहिर दर्शन गर्नेको लामो लाइनसँगै भीडभाड थियो । नेपाली पुजारी उपाध्यायज्युलाई पनि दर्शन गराउने लाइन सार्ने भ्याइनभ्याइ नै थियो । त्यतिकैमा हामीले दर्शन गरिसकेपछि भन्यौ, ‘हामी नेपालबाट आएका हौ, राम्रोसँग दर्शन गरर्यौ अब हामी बिदा हुन्छौ ।’ हामीले यति भन्नमात्र के भ्याएका थियौ उहाँले पनि नेपाली पनको आत्मियता देखाउदै ‘एकैछिन बस्नुस, म आउँछु’ भन्नुभयो ।
र हामीले उहाँसँग भेट गरयौ । नेपालबाट गएका हामी तीनजना महिला पत्रकारको भेट केवल एक नेपाली पुजारीसँगको भेट थिएन, त्यो त आफ्नो माटो, आफ्नो पहिचान र नेपाली हुनुको गौरवसँग जोडिएको एउटा भावनात्मक क्षण थियो। भेटकै क्रममा उहाँले आफना संघर्ष साधना र सफलताको क्षण हामीलाई सुनाउनुभयो ।
काशी विश्वनाथ मन्दिरका नेपाली मुख्य पुजारी आचार्य टेकनारायण उपाध्यायका अनुसार काशी विश्वनाथ मन्दिरकै इतिहासमा उहाँनै पहिलो नेपाली पुजारी हुनुहुन्छ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–२, भीमपोखरामा जन्मिनुभएका टेकनारायण उपाध्यायको बाल्यकाल धार्मिक संस्कार र आध्यात्मिक वातावरणमा बित्यो।
उहाँका पिता चुडामणि उपाध्याय ज्योतिषशास्त्रका ज्ञाता, कर्मकाण्डका जानकार र धार्मिक कथावाचक हुनुहुन्थ्यो। छोराले धर्मशास्त्रको ज्ञान हासिल गरोस्, संस्कृतमा दक्ष बनोस् र आध्यात्मिक क्षेत्रमा आफ्नो पहिचान बनाओस् भन्ने उहाँको चाहना थियो। बाबुकै चाहना अनुरुप १५ वर्षको उमेरमा, एक आफन्तको साथ लागेर उहाँ संस्कृत तथा आध्यात्मिक शिक्षा हासिल गर्न भारतको पवित्र नगरी काशी पुग्नुभयो।
नेपालको माटोमा जन्मिएर, नेपाली संस्कारमा हुर्किएर, ज्ञानको खोजीमा काशी पुग्नुभएका नेपाली आज भगवान् विश्वनाथको पवित्र गर्भगृहमा पूजा आराधना गर्ने सम्मानित स्थानमा हुनुहुन्छ।
सन् २००० मा उत्तर प्रदेश सरकारले काशी विश्वनाथ मन्दिरका लागि पाँच जना पुजारी नियुक्त गर्ने विज्ञापन खोल्यो।
त्यसका लागि ४८० जना प्रतिस्पर्धी थिए। यो सामान्य अवसर थिएन। हजारौँ वर्षको धार्मिक परम्परा बोकेको, लाखौँ श्रद्धालुको आस्थाको केन्द्र बनेको मन्दिरमा पुजारी बन्नु ठूलो जिम्मेवारी थियो। टेकनारायण उपाध्यायले पनि प्रतिस्पर्धामा भाग लिनुभयो। उहाँको ज्ञान, अध्ययन र साधनाले उहाँलाई सफल बनायो। ४८० प्रतिस्पर्धीमध्ये उहाँ दोस्रो स्थानमा छनोट हुनुभयो।
दुई वर्षपछि मुख्य पुजारीका लागि अर्को छनोट प्रक्रिया भयो। त्यसमा पनि सफल हुनुभएपछि सन् २००२ देखि अहिलेसम्म उहाँले काशी विश्वनाथ मन्दिरको मुख्य पुजारीका रूपमा जिम्मेवारी सम्हालिरहनु भएको छ । नेपालको एउटा सामान्य गाउँबाट ज्ञान आर्जन गर्न काशी पुगेका बालक, आज त्यही काशीको प्रसिद्ध विश्वनाथ मन्दिरका मुख्य पुजारी बन्नु चानचुने कुरा होइन ।
काशी हिन्दू विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनका क्रममा उत्कृष्ट स्थान हासिल गर्दै स्वर्ण पदक समेत प्राप्त गर्नुभएका उपाध्याय वेद विषयमा विद्यावारिधि पनि गर्नुभएको रहेछ । सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानसभालाई सम्बोधन गर्ने क्रममा काशी विश्वनाथ मन्दिरमा नेपाली पुजारी रहेको प्रसङ्ग उल्लेख गर्नुभएको थियो। उहाँले काशी र पशुपतिनाथको सम्बन्धलाई दुई देशबीचको सांस्कृतिक आत्मीयताको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको थियो।
पशुपतिनाथमा भारतीय पुजारी र काशी विश्वनाथमा नेपाली पुजारीको उपस्थितिले यही आत्मीयताको सुन्दर सन्देश दिएको पनि छ । नेपालबाट काशी पढ्न जानु, त्यही काशीको प्रसिद्ध विश्वनाथ मन्दिरमा मुख्य पुजारी बन्नु र नेपालीको शिर उँचो बनाउनु—यो एउटा व्यक्तिको सफलता मात्र होइन, नेपाली संस्कार र ज्ञानको गौरवपूर्ण इतिहास पनि हो।
(काशी बनारसबाट फर्किएपछि)

