काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को पक्राउविरुद्ध कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।

आज बसेको सचिवालय बैठकले ओलीको तत्काल रिहाइको माग गर्दै देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । एमाले सचिव महेश बस्नेत का अनुसार प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे विरोध प्रदर्शन गरिनेछ ।
यस्तै, भोलि १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउने, नागरिक समाजसँग सहकार्य गर्ने तथा अन्य राजनीतिक दलहरूसँग संवाद अघि बढाउने निर्णय पनि गरिएको छ।
सचिवालय बैठकका निर्णय पढ्नोस्–
१. आमजनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने ।
२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने ।
३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयमा विरोधपत्र बुझाउने ।
४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने । नागरिक समाज र आमजनसमुदायसँग सहकार्य गर्ने ।


