काठमाडौँ : उपसभामुख पदका लागि मनोनयन दर्ता हुँदै छ । संघीय संसद् सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय छ ।
प्राप्त उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे २ बजे हुनेछ । भोलि शुक्रबार निर्वाचन हुनेछ । सभामुखमा यसअघि नै रास्वपामा डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन् ।
संविधानतः सभामुख र उपसभामुख फरक-फरक दल र फरक-फरक लिंगको हुनुपर्छ । संविधानको धारा ९१ मा सभामुख र उपसभामुखको निर्वाचनसम्बन्धी व्यवस्था छ ।
‘निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ’ संविधानको धारा ९१ को उपधारा २ मा भनिएको छ ।
प्रतिनिधि सभामा रास्वपासहित ६ दल छन् । २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाको मात्रै १८२ सांसद छन् । नेपाली काँग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद छन् ।


