भक्तपुर । भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार नयाँवर्षको पहिलोदिन मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । भेलुखेलस्थि ल्यासिंखेलमा वर्षको अन्तिम दिन हिजो साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेलगायतका विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ ।

पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको, इन्द्रध्वजासहितको लिङ्गो जात्रा हेरे शत्रु नास हुने सहकाल आउने जनविश्वास रहेको छ । चैत मसान्तमा इन्द्रध्वजा सहितको लिङ्गो उठाउने र आज दिनभर भव्य मेला गरी साँझ लिङ्गो ढाल्ने गरिन्छ । यो जात्रा हेरेमा मनोकांक्षा पूरा हुने शत्रु नाश हुने जनविश्वास रहेको छ ।
आजै भक्तपुरको दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा स्नान गरी महादेवको पूजा गरे शरीरका सबै रोग नास भई गरेको काम सफल हुने जनविश्वास रहेको स्थानीयवासी एवं संस्कृति अनुसन्धानकर्ता रत्न सायमीले बताए ।
किम्वदन्तीअनुसार सिकारीले मारेको भङ्गेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण पुनः जीवित भएर उडेको भनाइ छ । यहाँको कुण्डमा नुहाए जीउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने जनविश्वास रहेको उनले जानकारी दिए। यही विश्वासले आज यहाँको कुण्डमा स्नान गर्ने बिहान ४ः०० बजेदेखि नै भीड लागेको छ ।
प्रत्येक वर्ष वैशाख १ गते मनाइने चारखण्डी मेलामा मन्दिर परिसरमा युवाहरुले शरीरमा बत्ती बालेर बसेका छन् । शरीरमा बत्ती बालेर बसेमा पाप नष्ट हुने एवं पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । यस मन्दिरमा बिहान ५ः०० बजेदेखि नै तीनवटा खटसहितको खट जात्रा समेत गरिएको छ । दधिकोटको विभिन्न क्षेत्र परिक्रमा गराई बिहानै ल्याइएको खट पुन मन्दिर परिसरमा राखेर पूजा गर्ने गरिन्छ ।
यता सिरुटार, बालकोटका बासिन्दाले यहाँको गुप्तेश्वर महादेव मन्दिरमा खट यात्रा गरी बिस्केट जात्रा मनाएका छन् । धिमे बाजाका साथ खटलाई गुप्तेश्वर महादेव मनिदर परिसरमा विधिपूर्वक पूजा गरी सुरु भएको खट जात्रा सिरुटारदेखि बालकोटसम्मको टोल टोलमा घुमाएर पूजा गर्दै जात्रा मनाएको स्थानीय भाइकृष्ण श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी दधिकोटको चित्रपुरस्थित छुमा गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ भने गणेशको खट जात्रा गरिएको छ । दधिकोट र सिरुटारका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन् । लामबद्ध भक्तजनले पूजा गरेर खट यात्रा गरि जात्रा मनाएका छन् ।

चैत मसान्तको दिन साँझबाट सुरु गरी रातभर सञ्चालन हुने चान्हेसियाअर्थात् रात्रिको जात्रा आज बिहान थिमिमा सम्पन्न भएको छ । मध्यपुरथिमिका बासिन्दाले मनाउने उक्त जात्रामा हिजो साँझ बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरि बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा सुरु गरिएको थियो ।
चान्हेसिया जात्रामा सर्वप्रथम दिगुटोलस्थित दिगुभैरवलाई आचाजु कर्माचार्यको घरबाट लायकुमा ल्याइन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याइएर जात्रा मनाइन्छ । त्यसपछि भने खटमा राखी बालकमारी मन्दिरमा विराजमान गराइएन्छ ।
जात्रामा थिमिको अधिकांश घरघरबाट चिराग बालेर र धिमाय बजाई दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुनः बालकुमारीबाट शङ्खधर चोक हुँदै क्वाछेंस्थित दक्षिण बाराही मन्दिर परिक्रमा गराएको थियो ।
त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराई बालकुमारी मन्दिरमा ल्याई पु¥याएर पाँच पटक परिक्रमा गराए पछि सोही स्थानमा आ–आफ्नो आसनमा खटहरुलाई राखेपछि जात्रा सम्पन्न भएको थियो । यो जात्रा हिजो साँझ सुरु भई आज बिहान ४ः०० बजे सम्पन्न भएको थियो ।
त्यस्तै मध्यपुरथिमिका बासिन्दाले प्रसिद्ध विष्णुवीर एवं सिद्धिकाली जात्रा आज थिमिमा सम्पन्न गरेका छन् । विष्णुवीरलाई सुङ्गा टोलबाट तछुटोलको गणेश, प्रथम गणेश, वामुने गणेश, थासमा गणेशलगायत विभिन्न देवगणसहित इनाय् टोल, हात्ती महाङ्काल, भुलाँखेल, चोडे, सिवाटोल, दथुटोल, लाछी, वामुने टोल हुँदै पुनः तछुटोल र सुङ्गा टोलमा परिक्रमा गर्दै बालकुमारी मन्दिरमासमेत परिक्रमा गराइएको थियो ।
बालकुमारी मन्दिरको डबलीमा राखिएको विष्णुवीरसहितका देवगणलाई स्थानीय बासिन्दाले पूजा गरेपछि विष्णुवीरलाई सुङ्गाटोलबाट पाङ्गु टोलमा लैजाँदा नेवारी परम्पराअनुरूप मान्छे मर्दा बजाइने सिं बाजा बजाउँदै लाने प्रचलन रहेको छ ।
त्यस्तै सिद्धिकालीका साथै अन्य विभिन्न देवगण थिमिको हात्ती महाङ्काल, कुमाननी, तुलाननी हुँदै जात्रा चपाचो पुर्याइ स्वङ्गापुखुको दुना फल्चा परिक्रमा गराई भुलाँखेल हुँदै चपाचो सिद्धिकालीको आफ्नै स्थानमा विराजमान गराइएको छ ।
त्यसैगरी विष्णुवीर, दक्षिण बाराही, बालकुमारीलगायत अन्य देवगणलाई सिन्दूर चढाइ आआफ्नो स्थानमा विराजमान गराएपछि आजको जात्रा विसर्जन गरिने परम्परा रहेको छ ।
आफ्ना देवीदेवतालाई खटमा राखेर काँधमा बोकी मुख्य देवी बालकुमारी मन्दिर लग्ने परम्परा छ। त्यहाँ सिन्दुर जात्रासहित तीनफेर परिक्रमा गरी आफ्नै स्थानमा फर्किन्छन्। यात्राभर विभिन्न बाजागाजा बजाउँदै श्रद्धालुको मानवसागरको माझबाट कहिले बाटोको पल्लो कुनो कहिले पल्लो कुनो गर्दै खट गन्तव्यमा लगिको दृश्य कम रोमाञ्चक हुँदैन।
एउटै जात्रा। पुजिने देवता फरक। सामान्यरूपमा हेर्दा त्यस्तो देखिए पनि भक्तपुरमा पुजिने भैरव थिमीमा प्रकृति पुरुषका रूपमा मानिन्छ। बालकुमारी भद्रकालीको प्रतीक हुन्।
संस्कृतिविद्हरूका अनुसार भक्तपुरमा आरम्भ हुँदा यो जात्रा दुई दिनकै थियो। चैत्र मसान्तको दिनमा विश्वध्वजोत्थान गरी वैशाख संक्रान्तिको दिनमा ढालेर मनाइन्थ्यो। मल्लकालतिर आइपुग्दा भक्तपुरका विभिन्न कालका शासकहरूले दुईदिने बिस्काः जात्रामा, अनेक जात्रा उपजात्रा थप्दै लगे। अन्यत्र पनि फैलियो।
बिस्का जात्राको शुरुआत भक्तपुरमा लिच्छविकालमै भएको हो। त्यहीँबाट छिमेकी शहर थिमी, उपत्यकाका अन्य शहर र देशका अन्य भागमा फैलियो। इतिहासकार तथा संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ बिस्का जात्राको मूल थलो नै भक्तपुर भएको बताउँछन्। ‘प्राचीन लिच्छविकालमा भक्तपुरमा यो जात्रा शुरु भएको हो’, श्रेष्ठ भन्छन्, ‘३०० सय वर्षभन्दा बढी भक्तपुर नेपाल देशको राजधानी थियो। त्यो वेला बिस्का राष्ट्रिय उत्सवको रूपमा मनाइन्थ्यो।
संस्कृतिविद् स्व। सत्यमोहन जोशीका अनुसार बिस्कालाई बिसिका वा बिस्यात पनि भन्छन्। ‘स्थानीय बासिन्दा बिस्केट जात्रालाई बिसिका ९बि.सर्प, सिका.मरेपछि० जात्रा भन्दछन्। केही केही चाहिँ विसयात ९लामो काठको लिङ्गो०, विसिख्यात ९सर्प भएको लिङ्गो० पनि भन्दछन्। बिस्केट चाहिँ यिनै शब्दहरूको अपभ्रंश हो’, हाम्रा चाडपर्व ९पृ।७६० पुस्तकमा उनी लेख्छन्।
प्राडा श्रेष्ठ भने नागनागिनी मरेको भन्ने किंवदन्तीमा कुनै आधार वा तथ्य नभएको बताउँछन्। सूर्य विशुवत् रेखामा पर्ने दिन मनाइन थालिएकाले यसलाई पछि विशुवत्, बिस्केट हुँदै बिस्का जात्रा भनिएको उनको तर्क छ। नेवार समुदायका सबैजसो चाडपर्व संस्कृति परम्परा सबै चान्द्रमानको पात्रोअनुसार ९नेपाल संवत्० चल्ने गरेको छ। बिस्केट जात्रा मात्र एउटा यस्तो पर्व हो, जो सौरमानको पात्रोअनुसार चल्ने गरेको छ। सौरमान अनुसारको वर्षको पहिलो संक्रान्ति वैशाख ९मेष० संक्रान्ति हो।
ज्योतिषशास्त्रअनुसार विशाखा नक्षत्रबाट वैशाख महिना बनेको बताइन्छ। ‘सूर्य विषुव रेखासँग सम्बन्धित हुँदै यो जात्राको नाम विषुवकेतु, विसिक, विषुवकेतु यात्रा, विसिक्यात हुँदै बिस्काः हुन पुगेको बताइन्छ’, संस्कृतिविद् श्रेष्ठ भन्छन्। स्थानीय लोकजीवनमा यो जात्रा मेष संक्रान्ति, वैशाख संक्रान्ति, बिस्केट संक्रान्ति, खायु सन्हु, ख्वप सन्हु लगायत च्याचा च्याहु नामले पनि प्रचलित छ।
यस्तै कुनै प्राकृतिक महामारी वा विपत्ति वा युद्धमा विजयप्राप्तिको खुशीयालीमा बिस्का जात्रा शुरु भएको मान्यता पनि छ। ‘पहिले–पहिले राज्य सञ्चालनका क्रममा धेरै आक्रमण–प्रत्याक्रमण हुने साथै प्राकृतिक प्रकोप, महामारी, अनिकाल हुने गरेकोले त्यसमाथि विजय पाएको उपलक्ष्यमा उत्सवस्वरूप जात्रा मनाउन थालेको हो’, श्रेष्ठले भने।
बिस्का जात्राको मूल उद्देश्य देशवासीको सुख शान्ति, समृद्धि, सुस्वस्थ्य र कल्याणको कामना गर्नु हो। यसैगरी वर्षभरि दिंवगत भएकाहरूका मोक्ष र सद्गतिको कामना पनि गरिन्छ।
विश्वनाथ भैरवको लिङ्गोमा फहराइने एक जोडी ध्वजा स्वयं विश्वनाथ भैरव र उनका शक्ति भद्रकालीका प्रतीक मानिन्छन्। ती ध्वजा कुशल मंगलका प्रतीक हुन्। यो ध्वजा नेपालको झन्डाको आदिरुप विश्वध्वजा मानिन्छ। यसमा सूर्य, चन्द्र, अष्ट्मङ्गल, भैरव, गणेश, फुलबुट्टा, चराचुरुङ्गी र छेउमा त्रिकोण आकार छ। ‘यो ध्वजाले संसारमा जबसम्मसर्य चन्द्र रहन्छ तबसम्म नेपाल देश रहन्छ भन्ने भाव प्रकट गर्छ’, श्रेष्ठ भन्छन्। विश्वध्वजालाई नेपालभाषामा हलिँपत भनिन्छ।
यिनको दर्शनले महामारी लगायत दुर्भिक्षको अन्त्य भई सहकाल आउँछ भन्ने मान्यता छ। यो लोकमा रहेकाहरूलाई सुस्वास्थ्य, समृद्धि र सुखशान्ति प्रदान गर्दै शत्रुनाश समेत गर्दै परलोकमा रहेकाहरूलाई मोक्ष प्राप्त होस् भन्ने कामनाले समेत विधान गरी जात्रा मनाइन्छ।
थिमी पनि पहिले भक्तपुर राज्यकै ठाउँ भएकोले बिस्का यहाँ पनि मनाइन थालिएको बताइन्छ। श्रेष्ठ भन्छन्, ‘भक्तपुर र थिमीका बिस्का जात्रा एक आपसमा परिपूरक र एक सिक्काको दुई पाटो हुन्।’
राष्ट्रिय पर्व रहेको यो जात्रा १८२६ मा गोर्खालीले भक्तपुर राज्य जितेपछि स्थानीय जात्रामा सीमित हुन पुग्यो। पछि नेवारहरु छरिएसँगैै यो जात्रा पनि विभिन्न ठाँउमा मनाउन शुरु भयो। श्रेष्ठका अनुसार कटुञ्जे, साँगा र ललितपुरमा पनि पुग्यो। बाग्लुङसम्म फैलियो।
हालसम्मको अध्ययनमा ‘विश्वध्वजात्रा’ को पहिलो उल्लेख टौमढी टोलको यक्षमल्लको ने।सं। ५६१ को अभिलेखमा भेटिएको बताइन्छ। नेपाल संवत् ६४१ को भूमिसम्बन्धी एउटा तमसुक–ताडपत्रमा ‘विसकजात्रा’ उल्लेख छ।’, उनी लेख्छन्, ‘भक्तपुर राजदरबारको ने।सं। ८०८ र नेसं ८१८ को जितामित्र मल्ल र भूपतीन्द्र मल्लका अभिलेखहरूमा ’विस्व्यात’ उल्लेख पाइन्छ।
‘पछि भैरव, भद्रकालीको रथजात्रा, दुमाजुजात्रा, टोल–टोलका गणेश, अष्टमातृका लगायतका स्थानीय देवताहरूलाई सगुन सहित दर्शनपूजन गर्न जाने आदि० थप भयो’, उनी भन्छन्, ‘मल्लकालको अन्त्यसम्म आइपुग्दा आठ रात नौ दिन लामो जात्राको रूपमा समृद्ध हुन पुग्यो।’
विश्व मल्ल ९१६०४–१६१७ वि।सं।० र उनकी रानी गंगादेवी ९गंगा महारानी०, १६०४–१६७० वि।सं।० ले बिस्का जात्रामा केही विधिविधान थपिदिएकी थिइन्। वंशावली अनुसार जगज्योतिर्मल्ल ९१६७०–१६९४० ले भैरव भद्रकालीको रथजात्रा, टोलका गणेश, दुर्गा, अष्टमातृकाको रथारोहण गरी सगुन दिने, सात ग्रामप्रदेशमा समेत बिस्काः जात्रा चलाएका थिए। थिमी पनि यिनै सात ग्राम प्रदेशमध्येको एक थियो।
त्यसैगरी भूपतीन्द्र मल्ल ९१७५३–१७७९० ले भैरवनाथको रथ पहिलेको भन्दा विशाल आकार प्रकारले बनाउन लगाई चलाउन लगाए। यता नेपाल संवत ४७४ मा जयस्थिति मल्लले वैशाख संक्रान्तिको राति बालकुमारी मन्दिरमा स्थापना पूजा चलाएको र पछि गंगा महारानीले व्यवस्थित रुपमा बिस्का जात्रा चलाएको संस्कृतिविद् श्यामकाजी श्रेष्ठ बताउँछन्।
भक्तपुरको जङ्गम मठमा भएको अभिलेख अनुसार विश्व मल्ल र उनकी पत्नी गगादेवीका दुई छोराको पालामा नयाँ विधि थप गरी जात्रा लम्ब्याइएको हो।


