काठमाडौँ । आज (मंगलबार) विक्रम संवत् २०८३ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिनका रूपमा मनाउने प्राचीन कालदेखिको परम्परा छ ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिन सङ्कल्प र सफलता प्राप्त गर्न योजना निर्माण गर्ने गर्छन् । आज बिहानै नुहाएर घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग सामाजिक सञ्जाल वा फोन सम्पर्कबाट भेटघाट गरी एकापसमा शुभकामना व्यक्त गरी नयाँ वर्ष मनाइएको छ ।
विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले आजको दिनलाई नयाँ वर्षका रूपमा मनाएका छन् । यहाँ यहाँ काठमाडौँमा साथीभाइ एवं इष्टमित्रसँग भेटघाट गरेर मनाउनेको लर्को सडकमा देखिन्थ्यो । मठ मन्दिर, उद्यान, स्मारक जस्ता स्थलमा सामूहिक वनभोज गरी नयाँ वर्ष मनाएको दृश्य पनि देखिन्थे ।
सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा डा माधव भट्टराई बताउँछन् । सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको उनको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि विक्रम संवत्मा भएको र कलियुग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् आरम्भ भएको मानिन्छ ।
नयाँ वर्षका अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याललगायतले सन्देश जारी गरी शुभकामना प्रदान गरेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाललगायतले पनि शुभकामना सन्देश जारी गरेका थिए ।


