मुस्ताङ, वैशाख १ गते । नयाँ वर्ष २०८३ सालको पहिलो दिन मुक्तिनाथ मन्दिरमा करिव बाह्र हजार धार्मिक तिर्थालुले दर्शन गरेका छन् । सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिरसमृद्धिको कामना गर्दै स्वदेशी तथा विदेशी पर्यटकले मुक्तिनाथ मन्दिरमा श्रद्धापूर्वक दर्शन गरेको मुक्तिनाथ विकास समितिले जनाएको छ ।

हिउँदयामपछि चलायनमा भएको मुक्तिनाथ मन्दिरमा औसत दैनिक चार हजारदेखि पाँच हजारको हाराहारीमा मुक्तिनाथ मन्दिरको दर्शन गर्ने गरिएकामा आज मुक्तिनाथ मन्दिरमा साविकभन्दा दोब्बर धार्मिक तीर्थालुले दर्शन गरेको समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो । नयाँ वर्ष भएकाले दिउँसो २ बजेपछि पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीडले परिसर खचाखच भरिएको उहाँको भनाइ छ ।
यसैगरी नयाँ वर्षको उपलक्ष्यमा उल्लेख्य सङ्ख्यामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी र स्थानीय नागरिक पनि मुक्तिनाथ मन्दिरको दर्शन गर्न पुगेका थिए । मध्यपूर्वको द्वन्द्वले पेट्रोलियम पदार्थको समस्या देखिए पनि टाढाटाढाबाट दर्शनार्थी झत्तजन मुक्तिनाथको दर्शन गर्न आइपुगेको व्यवस्थापक भुसालको भनाइ छ । योसमय मुक्तिनाथ दर्शन गर्ने अनुकुल मौसम भएकाले मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढेको हो ।
आज बिहान ६ बजेदेखि मुक्तिनाथमा दर्शनार्थी व्यापक चहलपहल देखिएको हो । दर्शनार्थीको व्यापक उपस्थितीले मन्दिर परिसर र १०८ धारालगायतका स्थान पुरै दर्शनार्थीले भरिएको थियो । नयाँ वर्षको पहिलो दिन मुक्तिनाथको दर्शन गर्नाले वर्षभरीनै राम्रो हुने भएकाले भक्तजन मुक्तिनाथ मन्दिरको दर्शन गर्न ओइरिएका हुन् ।
मन्दिरमा व्यापक मात्रामा दर्शनार्थीले भरिएपछि समितिले भक्तजनलाई लाईनबद्ध हुने गरी मन्दिरको दर्शनकार्यमा सहजीकरण गरेको थियो । नयांँ वर्षमा मुक्तिनाथ दर्शन गर्न आएका सवारी साधनले मुक्तिनाथस्थित रानीपौवाका दुई वटा बसपार्क पुरै सवारी साधनले भरिएर सवारी पार्किङमा समस्या भएको थियो ।
योसँगै मुक्तिनाथ दर्शन गर्ना आएका पर्यटकका कारण मुस्ताङको जोमसोम, मार्फालगायत पर्यटकीय गाउँमा दर्शनार्थीको चहलपहल बाक्लिएको हो ।
मुस्ताङ : हिमाल, संस्कृति र साहसिक पर्यटनको आकर्षक गन्तव्य
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङ पछिल्लो समय नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। प्राकृतिक सौन्दर्य, हिमाली भू–दृश्य, प्राचीन संस्कृति तथा धार्मिक सम्पदाले भरिपूर्ण मुस्ताङले आन्तरिक तथा बाह्य पर्यटकलाई समान रूपमा आकर्षित गरिरहेको छ।
समुद्री सतहबाट उच्च भूभागमा रहेको मुस्ताङलाई नेपालको “हिमाली मरुभूमि” पनि भनिन्छ। यहाँको प्रसिद्ध मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल हो। हरेक वर्ष हजारौँ भक्तजन मुक्तिनाथ दर्शनका लागि पुग्ने गरेका छन्। त्यस्तै, लोमान्थाङ दरबार, प्राचीन गुम्बा, डुङ्गाले बनेका गाउँ तथा कालीगण्डकी नदी किनारका दृश्य पर्यटकका मुख्य आकर्षण बनेका छन्। सडक सञ्जाल विस्तार र हवाई पहुँच सहज बन्दै गएपछि मुस्ताङमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको व्यवसायीहरू बताउँछन्। विशेषगरी पोखराबाट सडकमार्ग हुँदै जाने आन्तरिक पर्यटकको संख्या पछिल्ला वर्षमा तीव्र रूपमा वृद्धि भएको छ। चिसो मौसममा हिमाल अवलोकन, मोटरसाइकल तथा जिप यात्रा, पदयात्रा र धार्मिक भ्रमणका लागि पर्यटक मुस्ताङ पुग्ने गरेका छन्। विदेशी पर्यटकहरू पनि मुस्ताङको अनौठो भूगोल, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो जीवनशैली र साहसिक पर्यटनका कारण आकर्षित हुने गरेका छन्। होटल व्यवसायीका अनुसार युरोप, अमेरिका, चीन तथा दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको संख्या क्रमशः बढ्दै गएको छ।


