सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१२ पुथालास्थित भित्री सडक खण्डमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा बनगाड कुपिण्डे नगरपालिका–८ थाराका ५२ वर्षीय टोपबहादुर थापा, ५२ वर्षीय ठगे घर्ती, २९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईले बताएका छन ।

हिजो साँझ थाराबाट कालिमाटी–लक्ष्मीपुरतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटना लगत्तै स्थानीयवासी र प्रहरी टोलीले उद्धार गरेका थिए ।
अस्थायी प्रहरी पोष्ट बाबियाचौर, इलाका प्रहरी कार्यालय देवस्थल र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको हो । जिपमा चालकसहित १८ जना सवार रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएका मध्ये अमर सिंह कँवर, डम्मर घर्ती, जनक थापा, भूपेन्द्र कँवर, भुलबहादुर थापा, जुग सिंह पुन, कर्णबहादुर पुनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।


