काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सांगठनिक र संरचनागत सुधारका एजेन्डामा छलफल गर्न सचिवालय बैठक आह्वान गरेको छ। सभापति रवि लामिछानेले आज दिउँसो ३ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरि बैठक बोलाएका हुन्।

बैठकमा विशेषगरी पार्टीको आगामी महाधिवेशन र जिल्ला अधिवेशनको तयारीबारे ठोस छलफल हुने बताइएको छ। प्रस्तावित कार्यसूची अनुसार ‘जिल्ला अधिवेशन कार्यविधि–२०८३’ र ‘महाधिवेशन कार्यविधि मस्यौदा समिति’ गठन गर्ने विषयलाई मुख्य एजेन्डा बनाइएको छ।
यस्तै, बैठकमा केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्चको विस्तार र पार्टीका विभिन्न विभागमा मनोनयन गर्ने तयारी छ। बैंक खाता सञ्चालनसम्बन्धी नयाँ व्यवस्था र विभिन्न परियोजनाका लागि विज्ञ आह्वान गर्ने विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ।


