१७ बैशाख २०८३, बिहिबार 1777554592
Banner

सरकारले अध्यादेश ल्याएरै भए पनि काम गर्नैपर्छ, ‘किचकिच’ नगरौँ : महावीर पुन

काठमाडौँ : सरकारले अध्यादेश ल्याएको भनेर विपक्षी दलहरूले चर्को विरोध गरिरहेका बेला स्वतन्त्र सांसद महावीर पुनले भने प्रतिरक्षा गरेका छन्। स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वशिक्षामन्त्री पुनले सरकारलाई काम गर्न दिन र किचकिच नगर्न सम्बन्धित पक्षलाई आग्रहसमेत गरेका छन्।

बिहीबार बिहान उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले अध्यादेश ल्याएरै भए पनि काम गर्नैपर्छ। कुविद्वान्‌हरूले किचकिच नगरौँ। मैले धेरै वर्षअगाडिदेखि जनताहरूलाई फाइदा हुने कामहरू गर्न खोज्दा मन्त्रालयले ऐन कानुन छैन भनेर अलमल्यायाउँदा धेरै दु:ख पाएको भुक्तभोगी म हुँ। जेनजी आन्दोलनपछि शिक्षामन्त्री हुँदा मैले गर्न खोजेको धेरै कामहरू ऐन-कानुन देखाएर नै कर्मचारीहरूले अगाडि बढाउन दिएनन्। साथै मैले ल्याउन खोजेको तीनवटा अध्यादेशहरू ल्याउन धेरै प्रयासका बाबजुद पनि सफल हुन दिएनन्। अनि चुनाव लडेर सांसद भएको हो नि। कुरा बुझ्नु भो?’

सरकारले सार्वजनिक निकायमा हुने नियुक्ति पारदर्शी र प्रतिस्पर्धी बनाउन, दलीय राजनीतीकरण अन्त्य गर्न, सार्वजनिक निर्माणलाई तीव्रता दिन, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न तथा भूमि, मालपोत र नापीलगायतका सेवा प्रभावकारी बनाउन भनी विभिन्न अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।