२१ बैशाख २०८३, सोमबार 1777911043
Banner

प्रधानमन्त्री बालेनको निर्देशनमा सञ्चारकर्मीलाई फोटो/भिडिओ खिच्न रोक

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा सोमबार सञ्चारकर्मीले भिडियो तथा भिडिओ खिच्न पाएका छैनन्। प्रधानमन्त्री बालेन्द्र साहले बाहिर दृश्य खिचिरहेकोप्रति असन्तुष्टि जनाउँदै रोक लगाउन निर्देशन दिएपछि सुरक्षाकर्मीले कडाइ गरेका हुन्।

मन्त्रिपरिषद् बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री साहले कार्यालय प्रवेश गर्नुअघि बाहिर रहेका भिडियो पत्रकारतर्फ संकेत गर्दै असन्तुष्टि व्यक्त गरेका थिए । त्यसपछि सुरक्षामा खटिएका कर्मचारीले पत्रकारलाई उक्त स्थानबाट हट्न र थप दृश्य सङ्कलन नगर्न भनेका थिए।

नियमित रिपोर्टिङका लागि पुगेका सञ्चारकर्मीलाई यसरी रोक लगाइनुले प्रेस स्वतन्त्रता र सूचनाको हकमाथि असर परेको भन्दै सञ्चार क्षेत्रका व्यक्तिहरूले चिन्ता व्यक्त गरेका छन्। राज्यको प्रमुख प्रशासनिक केन्द्रमै पत्रकारलाई अवरोध गर्नु पारदर्शिता र जवाफदेहितासँग जोडिएको विषय भएको उनीहरूको धारणा छ।

यता, मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नमा सरकारका प्रवक्ताले भने यो कदम कडाइ नभई व्यवस्थापनको प्रयास भएको बताएका छन्। कार्यालयभित्रको गतिविधिलाई व्यवस्थित बनाउनका लागि यस्तो गरिएको उनको प्रतिक्रिया थियो।