कृष्णप्रसाद भट्टराई नेपालीमाझ ‘सन्त नेता’ का रूपमा चिनिनुहुन्छ । सन्त नेता ? नयाँ पुस्ता कान ठाडा पार्न सक्छन् । पुराना कुनै नेताको नाम लिएर उहाँ असल हुनुहुन्थ्यो भनेको सुन्दा छक्क पर्न सक्छन् । उनीहरू अधिकांशका मस्तिष्कमा राजनीतिक नेता भनेका फटाहा बदमास हुन् भन्ने अतिरञ्जित भाष्य छ । सत्य के हो भने भट्टराईलाई नजिकबाट चिन्नेहरू मात्रै होइन नाम सुनेजानेका नेपाली सबैले उहाँलाई साँच्चै सन्त प्रवृत्तिका इमानदार नेताका रूपमा मान्छन् ।
सन्त शब्द सुन्दा जोसुकैका आँखामा आत्मज्ञानले युक्त, लोभलालच नगर्ने, भोगविलासमा नफसेको एउटा असल तथा आदरणीय व्यक्तिको मूर्त/अमूर्त तस्बिर आउँछ । आत्मज्ञान मापनयोग्य कुरा होइन न त लोभलालच नै । यी अनुभव गरिने कुरा हुन्, सम्बन्धितका व्यवहारमा झल्किने कुरा हुन् । राजनीतिमा उहाँको त्याग, बोलीवचन, व्यवहार र जीवनशैलीलाई हेरेर नै भट्टराईलाई मानिसले सन्त नेताको सम्मान दिएका हुन् । उहाँका निकट पुगेकाहरू उहाँलाई श्रद्धा र स्नेहका साथ ‘किसुनजी’ भनेर सम्बोधन गर्थे ।
२०१७ सालमा महेन्द्रले सेनाको आडमा जननिर्वाचित सरकार र त्यससँग सम्बद्ध सबै मानिसलाई बलात् बन्दी बनाउँदा त्यस समयको संसद्का सभामुख भट्टराईलाई पनि बाँकी राखिएन । आठ वर्ष जति काराबासको सजाय खेपेपछि राजनीतिलाई प्रजातान्त्रीकरण गरिने अपेक्षासहित राजासँग मेलमिलाप गर्ने नीति अनुरूप प्रधानमन्त्री बिपी कोइरालाहरू कारामुक्त हुनुभयो । राजासामु कुनै पनि सर्त राखेर नझुक्ने अडानमा रहनुभएका भट्टराईले बिनासर्त कारामुक्त हुन थप दुई वर्ष कुर्नु प¥यो । त्यसपछि पनि भट्टराई निरन्तर रूपमा प्रजातन्त्रका पक्षमा मन, वचन र कर्मले लागिरहनुभयो । पटक पटक गिरफ्तार हुनु र केही समयको कारावासपछि छुट्नु उहाँको जीवनको एउटा हिस्सा भयो ।
निरङ्कुश पञ्चायती शासनविरुद्ध २०४६ सालको जनआन्दोलन सफल हुँदा कांग्रेसका कार्यवाहक सभापति रहनुभएका भट्टराईलाई अन्तरिम मन्त्रीपरिषद्को नेतृत्व लिनुपर्ने जिम्मेवारी आइलाग्यो । यसरी प्रधानमन्त्री बन्नुभएका भट्टराईले आफूलाई दिइएका मुख्य दुई जिम्मेवारी– प्रजातान्त्रिक संविधान निर्माण र तदनुरूप आमनिर्वाचन– यथासमय पूरा गर्नुभयो । प्रधानमन्त्री निवास बालुटारबाट बाहिरिँदा पहिले आफूले साथमा लिएर गएका टिनको पुरानो सानो ट्याङ्का, खानेपानी राख्ने माटाको सुराही र छाता मात्रै उहाँका साथमा थिए । त्यसबेला यस विषयले खुब चर्चा पाएको थियो । त्यसपछि आमनेपालीमाझ उहाँको छवि साँच्चै सन्त नेताकै रूपमा स्थापित भयो ।
२०४७ मा नयाँ प्रजातान्त्रिक संविधान बनाउनु कम चुनौतीपूर्ण थिएन । राजदरबार, दरबारिया शक्ति जिउँका तिउँ थियो । शाही सेनाको नेतृत्व तहमा रहेकाहरू पनि सक्रिय राजतन्त्रको समयमा आफूले गर्न पाएको रजगज गुम्ने चिन्तामा थिए । भनिन्छ तिनै जर्नेलहरू एक दिन प्रधानमन्त्री भट्टराईलाई घेर्न पुगेका थिए । नयाँ संविधानमा राजाको शक्ति कटौती गर्न पाइँदैन भन्दै भट्टराईले यो विषय तपाईंहरूको नभएर राजाको चासोको हो भन्दै तिनको हाँकलाई बेवास्ता गरिदिनुभयो । प्रधानमन्त्रीका रूपमा भारत भ्रमणमा जाँदा दिल्लीमा उहाँको ठुलो स्वागत भयो । त्यहाँका एक केन्द्रीय राज्यमन्त्रीले भट्टराईको पाउ छोएर अभिवादन गरे । त्यो उनीहरूको सांस्कृतिक परम्परा हो तर नेपालमा त्यसले ठुलो हलचल ल्यायो । त्यसअघि निकै लामो भारतीय नाकाबन्दीको पीडा भोगेका नेपालीले हर्ष मनाए ।
त्यसै भ्रमणका क्रममा एक पत्रकारले भट्टराईलाई सुरिएर सोधे, “तपाईंहरू तराईका मानिसलाई किन सेनामा नलिएर विभेद गर्नुहुन्छ ?” भट्टराईले आफ्नो जवाफमा भन्नुभयो, “तपाईं पहिले आफ्नो मन्त्रीलाई सोध्नुहोस् उनी किन तराईको मानिसलाई भारतीय सेनामा लिँदैनन् ।” त्यस प्रसङ्गले पनि नेपालमा ठुलो चर्चा पाएको थियो ।
भट्टराईलाई ईश्वर र प्रारब्धमा विश्वास थियो । उहाँको आत्मकथाका रूपमा प्रकाशित पुस्तक ‘मेरो म’ को अन्तिम पृष्ठमा उहाँकै हस्ताक्षरमा अङ्ग्रेजीमा लेखिएको एउटा अभिव्यक्तिको सानो हिस्सा छापिएको छ; त्यसले भन्छ, मेरो जीवन र आयुको तय मद्वारा नभई श्री परमेश्वर स्वयम्बाट भएको छ; ममा रहेका कमीकमजोरी मात्रै मेरा हुन् । नित्य गीता पाठ गर्ने भट्टराई कर्मकाण्डी भने हुनुहुन्नथ्यो । बिपी कोइरालासमेत उहाँलाई उच्च सम्मान गर्नुहुन्थ्यो । कोइरालाको गुनासो हुने गथ्र्यो, किसुनजी सबैजसो कुरालाई ठट्टामा उडाउनु हुन्छ ! एउटा आत्मज्ञानीका लागि दैनन्दिन घटित हुने घटना ठट्टा सरह नै त हो नि !
साथीभाइसमक्ष बडो रसिक स्वभावमा देखिने भट्टराईले विवाह भने गर्नु भएन । किन गर्नु भएन, कसैले सोध्ने हिम्मत गरेन । बाहिरबाट देख्दा उहाँलाई विवाह गर्ने फुर्सद नै भएन भन्दा हुन्छ । साथीभाइसँग अनौपचारिक गफगाफमा उहाँ बढी हिन्दी र अङ्ग्रेजी बोल्ने गर्नुहुन्थ्यो । उहाँको हास्यविनोदी वार्ता शैलीले मानिसलाई मन्त्रमुग्ध पाथ्र्यो । उहाँका व्यङ्ग्यवाण तीक्ष्ण हुने गर्थे । भनिन्छ, एक पटक महेन्द्रले उहाँलाई सोध्नुभएको थियो, “सभामुखजी, तपाईं अविवाहित हो नि ?” भट्टराईको अङ्ग्रेजीमा जवाफ थियो, “हो सरकार, म अविवाहित अवश्य हुँ तर ब्रह्मचारी भने होइन ।”
सांसद पदको निर्वाचनमा उम्मेदवार भएका बखत कसैले उहाँलाई सोध्यो, “तपाईंको उम्मेदवारी केका लागि ?” उहाँको उत्तर थियो, “मलाई पनि ह्विस्की खाने पैसा चाहिन्छ नि !” जानकारहरू भन्छन् त्यसबेलाको संसद् र सांसदप्रतिको कटाक्ष थियो त्यो । त्यो कटाक्ष बुझेर सांसदहरू सच्चिएका भए जेनजीले आन्दोलन गर्ने कष्ट उठाउनुपर्ने थिएन । भट्टराई गान्धीवादी हुनुहुन्थ्यो यद्यपि उहाँले २००७ सालको सशस्त्र जनक्रान्तिमा हतियारले सुसज्जित भएर एउटा मोर्चाको नेतृत्व समाल्नुभएको थियो । उहाँ आजीवन अपरिग्रही रहनुभयो । उहाँको बस्ने आफ्नो निजी घरसम्म थिएन । लामो समय बन्दी जीवन बिताउनुभएका भट्टराई जेलबाहिर रहँदा आफ्ना भान्जाको घरमा आश्रय लिनुहुन्थ्यो । उहाँलाई आरामदायी आवास उपलब्ध गराउन उत्साहित मानिसको कमी थिएन तर त्यस्ता उपहारमा उहाँको कुनै रुचि थिएन ।
भट्टराईको सानिध्य पाएका अधिकांश मानिसमा उहाँको निस्पृह र वीतरागी जीवनशैलीका अनेक प्रसङ्गको भण्डार पाइन्छ । अब त्यस्ता व्यक्ति स्वयम् दुर्लभ हुँदै गएका छन् । भट्टराई प्रधानमन्त्रीबाट हटेको केही समयपछिको एउटा प्रसङ्ग उल्लेख गर्दा उहाँको अपरिग्रही व्यक्तित्वको झलक मिल्छ । एक बिहान सदा झैँ भट्टराईका नजिकका दुई÷चार जना पार्टीका साथीहरू गफिँदै थिए भट्टराईको आवासमा । कोठाको एउटा कुनामा रहेको झोलातिर इसारा गर्दै त्यसलाई नजिक ल्याउन तिनैमध्येका एकलाई उहाँले अह्राउनुभयो । त्यस झोलाबाट निकालेर त्यहाँ रहेका सबैलाई एक एक प्याकेट थमाउनु भयो । आफ्ना प्रिय नेताबाट पाएको उपहार सबैले सगौरव ग्रहण गरे । ती प्याकेट अरूथोक केही नभएर उहाँलाई विभिन्न अवसरमा प्राप्त उपहार थिए । भट्टराईका अनेक रोचक वार्ता सुनेर मन्त्रमुग्ध भएका उनीहरू उपहारमा पाएका प्याकेट च्याप्दै प्रफुल्ल मुद्रामा यथासमय बिदा भए ।
यसरी उपहार पाउनेहरूमध्ये एक थिए नेपाली कांग्रेस काभ्रेका युवा नेता राजेन्द्र खरेल । उहाँले घर पुगेर जब त्यो प्याकेट खोल्नुभयो आश्चर्यको सीमा रहेन । उहाँमा एक प्रकारको आतेस आइलाग्यो । शरीरमा सर्र पसिना आयो; लगत्तै उहाँलाई शीताङ्ग भएको अनुभव भयो । उहाँले त्यो कुरा घरका सदस्यमा पनि खोल्नुभएन । त्यस रात उहाँलाई निकै कठिनले मात्रै निन्द्रा प¥यो । भोलिपल्ट खरेल पुनः भट्टराईको कोठामा पुग्नुभयो । उहाँको हातमा अघिल्ला दिन भट्टराईले दिएको प्याकेट थियो । त्यसलाई फर्काउँदै खरेलले भन्नुभयो, किसुनजी, यो म राख्न सक्दिनँ । यसले मेरा छोराहरूबिच ठुलो कलह ल्याउने छ । कृपया यो फिर्ता लिइदिनुहोस् !
त्यसपछि मात्रै त्यो प्याकेट उपहार दिने भट्टराई स्वयम्लाई पनि थाहा भयो त्यसमा त खाँटी सुनको पान राख्ने डिब्बा पो रहेछ । भट्टराई पानका अमली हुनुहुन्थ्यो । त्यो डिब्बा भारतीय प्रधानमन्त्री पिबी नरसिंह रावले भट्टराईलाई उपहार दिएका रहेछन् । भट्टराईले खरेललाई भन्नुभयो, “मैले दिएको उपहार तपाईंले राखेको भए फरक पर्ने थिएन ।” त्यसपछि भट्टराईले भन्नुभयो, ‘मैले पाएका ती उपहारका प्याकेट नखोली तपाईंहरूलाई दिनुको मतलब छ । खोलेर बहुमूल्य सामग्री देखेपछि लोभ पलाउन सक्छ ।” यस घटनाका प्रत्यक्षदर्शी एकताका भट्टराईका निकटका मित्र खेमराज सेढाईंले हालै एक टेलिभिजन अन्तर्वार्तामा भन्नुभएको छ, “त्यसपछि त्यो बट्टा भट्टराईले दरबारमा बुझाइदिनुभयो ।”


