२ जेष्ठ २०८३, शनिबार 1778933150
फिचर

भादगाउँमा जात्रैजात्रा

जात्रा भन्नासाथ भक्तपुरको सम्झना आउँछ । बडो रोचकता हुन्छ जात्रा अवलोकन गर्दा । यहाँको जस्तो जात्राको भव्यता अन्त कतै पाइँदैन । वास्तवमा भक्तपुर जात्रैजात्राको सहर हो । उपत्यकामा अनेकन् जात्रा हुने गरे पनि जात्राको मुख्य थलो भक्तपुर यानि भक्तपुर, थिमि र बोडे । यहाँका मानिससँग के छ ? के छैन ? भन्दा पनि यिनले मूर्तअमूर्त सम्पदा बचाएका छन् । यी सम्पदाको मूल्य कसैले आँक्न सक्दैन । सम्पदामा रमाउँदा प्राप्त गरेको मानको मूल्य पनि लगाउन सकिन्न । उनीहरू सहृदयी छन्, रथ र खटजात्रामा सहभागी भएर उमङ्ग बाँड्छन् । परम्परा बचाएका छन् । आफ्नै बलबुतामा मूर्तअमूर्त सम्पदा संरक्षण गरेका छन् । सिन्दुरे रङमा रमाउन बालकदेखि वृद्धसम्म पुग्छन् । बाबुआमाको काँधमा चढेर जात्रा हेर्न पुग्ने बालबालिकाको मुस्कानले रथ तान्ने लट्ठामा बल लगाउँदै गरेका युवाको उत्साह बढाउँछ । जात्रा मनाउनेको प्रतिभा अद्भुत छ । त्यही प्रतिभा अवलोकन गर्न देशविदेशका मानिस यहाँ आउने गरेका छन् । 

याद आउँछ, बुवाआमाको काँधमा चढेर जात्रा हेर्दै मुस्कुराउँदै गरेका बालबालिकाको । मेरो मन उनीहरू देख्नासाथ नै प्रशंसाले भरिएको थियो । मनमा प्रश्न खेल्न थाल्यो– यिनै बालबालिका युवा हुन्छन् र भोलि रथको लट्ठा र खटलाई काँध थाप्ने छन् । यसरी धानिँदै आएको हो संस्कार र संस्कृति । नयाँ वर्षलाई सम्झनायोग्य बनाउने गर्छ भक्तपुरको जात्राले । भक्तपुर नगरको सांस्कृतिक र ऐतिहासिक महत्वको प्रमुख आकर्षण हो, बिस्काःजात्रा ।

हरेक वर्ष चैत २७ देखि सुरु भएर आठ रात नौ दिनसम्म भक्तपुर जात्रामय बन्छ । तौमढीस्थित न्यातपोल मन्दिरअगाडिबाट भैरव र भद्रकालीको रथ तानेर सुरु हुने जात्रा वैशाख ५ मा गहिटी पु¥याएपछि समाप्त हुन्छ ।  

लामो समयदेखि चलेको यो जात्रालाई स्थानीयले जोगाएका छन् । कम्तीमा दुई हजार वर्षदेखि भक्तपुरमा बिस्काःजात्रा चल्दै आएको छ । यस क्षेत्रमा कुँदिएका शिलालेख र जात्रा विषयक विधिविधान उल्लेख भएका ग्रन्थले ती कुरालाई पुष्टि गर्छ ।

लिच्छविकालमा सुरु भएको जात्रालाई मल्ल राजाहरू विश्व, जगज्योति, रणजितलगायतले थप परिष्कृत गर्दै अहिलेको स्वरूपमा ल्याएका देखिन्छ ।

बिस्काःजात्रालाई नै बिस्केटजात्रा भनिन्छ । भैवनाथ र भद्रकालीको रथ तान्ने र भेलुखेलस्थित यसिंख्यःमा ५५ हात लामो यसिंद्यो (लिङ्गो) उठाउनु जात्राको मुख्य आकर्षण मानिन्छ । बाहिर गएका स्थानीय सकभर यस जात्राको समयमा घर फर्किने गर्छन् । इतिहास अध्ययन गर्दा भैरवनाथको रथ तान्ने प्रचलन सुरु हुनुभन्दा अघि भद्रकालीको मात्र रथ तान्ने परम्परा रहेको पाइन्छ ।

सायद सो समयमा यहाँ शाक्तको प्रभाव व्यापक थियो होला । नेपाल मण्डल शिव र शाक्तको प्राचीन थलो रहेको देखिन्छ । प्रारम्भमा बिस्काःजात्राको रथ एकतले थियो । भूपतिन्द्र मल्लको पालामा तीनतले रथ बनाइएको इतिहास छ । रथ तान्ने तरिका गजबको छ । विधिविधानका साथमा धरती कम्पायमान गराउँदै रथ गुडाइन्छ । केही गरेर भए पनि रथ तान्न युवा शक्ति उत्साहित हुने गर्छ । रथसम्म पुग्न र रथ तान्न भने त्यति सहज छैन । भूपतिन्द्र मल्लले बिस्काः (बिस्केट) सँगै नवदुर्गा नाच पनि ठाउँ ठाउँमा देखाउने चलन चलाएको पाइन्छ । 

जात्रैजात्रामा रमाएर परम्परा धान्न मूर्तअमूर्त सम्पदा संरक्षण गरेकाहरूप्रति मेरो मनमा उच्च स्थान छ । मेरो बसोबास यही क्षेत्रमा भए पनि गहिराइमा डुबेर अध्ययन गर्न नसक्दा मन कुँढिएको छ । व्यक्ति सदा जिउँदो रहन सक्दैन, जिउँदो व्यक्तिले नै परम्परा जिउँदो राख्ने गर्छ । परम्परा धानेका व्यक्ति मर्छन्, परम्परा धान्न अरू अघि सर्छन् र त यो आजसम्म बाँचेको छ ।

बिस्काःको लिङ्गोमा झुन्ड्याइने ध्वजा सर्प मारेर झुन्ड्याइएको रूप भएको स्थानीयको मान्यता छ । सर्प मारिसकेपछि मनाइने जात्रा भएकाले लिङ्गो ठड्याउनुअघि टुप्पोमा नाग र नागिनीको प्रतीकस्वरूप दुइटा ध्वजा बाँधिन्छ । साथै अष्टमातृकाको प्रतीक आठ वटा डोरीले लिङ्गो उठाउने चलन छ । एउटा अंशको पतन र अर्कोको उदयका रूपमा मनाइने यो जात्राको प्रतिभा सत्ता परिवर्तनको उत्सव जस्तो पनि बुझ्न सकिन्छ । निश्चय नै लोकजीवनले देवीदेवताको जात्रालाई भैरव र भद्रकालीको सम्मानमा मनाउने गरेको बुझिन्छ । 

जात्राको पहिलो दिन पाँचतले मन्दिरअगाडिको तौमढी चोकमा बनाइएको भैरवनाथको रथ तानिन्छ । यो रथ प्यागोडा शैलीमा ३० फिट अग्लो बनाइएको हुन्छ । भक्तपुरको पाँचतले मन्दिर क्षेत्रलाई नगरको बिच मानिने भएकाले यहाँबाट जात्रा सुरु गर्ने चलन चलेको हो । सो ठाउँमा बनेको रथलाई नगरको माथ्लो भाग ‘थने’ र नगरको तल्लो भाग ‘क्वने’ मा लाने प्रचलन छ । लामो परम्परा बोकेको बिस्काःजात्राको संस्कृतिलाई उचाइमा पु¥याउन भैरव र भद्रकालीको सम्मान गर्दै टोल टोलमा जात्रा गर्ने प्रचलन छ ।

दोस्रो दिन रथ तान्ने र सरसफाइ गर्ने काम मात्र हुन्छ । चैत मसान्तको दिन भेलुखेल ‘ल्योसिंखेल’ मा ५५ हात लामो लिङ्गो उठाउने र नव वर्षको पहिलो दिन ढाल्ने गरिन्छ । यसलाई हेर्न दिनभरि नै मेला लाग्छ । वर्षमा एक दिन हुने यो कार्य हेर्न उपत्यकाभित्रका मात्रै नभई विभिन्न देशबाट समेत पर्यटक आउँछन् । जात्राको तेस्रो दिन गःहिटीमा गुठी संस्थानद्वारा गरिने सरकारी पूजामा भैरवनाथलाई बलि चढाइन्छ अनि उक्त बलिपूजाको मासु प्रसादका रूपमा लाकुलाछेवासीलाई बाँडिन्छ ।

सोही दिन तेखाचोस्थित वाराहीको द्यो छेँ (देवघर) बाट स्थानीय बाजागाजासहित वाराहीपीठस्थित वाराही मन्दिरमा लैजाने यस परम्परालाई स्थानीय भाषामा ‘वाराही क्वाँहा विज्यागु’ भन्ने गरिन्छ । चौथो दिन वाराहीको वाराही तिप्वा जात्रामा वाराहीको मूर्तिलाई खटमा राखी डुलाइन्छ । खट प्यागोडा शैलीको हुन्छ । देवी वाराहीलाई एक रात पीठमा राखेर भोलिपल्ट लिङ्गो ढालेपछि वाराहीको खट पुज्न टोल टोलमा परिक्रमा गराएपछि देवगृहमा लगिन्छ । बिस्काःजात्राका क्रममा इन्द्रायणी देवीको त्वारिवा जात्रा पनि मनाइन्छ ।

त्वारिवा जात्राको बेला नै इन्दायणीको खट सिँगारेर रथजात्रा मनाउने चलन छ । बिस्काःकै आकर्षण हो– भैरव र भद्रकालीको रथ जुधाउने जात्रा । परापूर्वकालदेखि नै सञ्चालित लिङ्गो जात्राको समापनलगतै वैशाख १ गते स्थानीय खँलाटोलको रथ सङ्गम जात्रालाई भैरव र भदैकालीको विवाहका रूपमा पनि लिइन्छ । महाकाली र महालक्ष्मीको सङ्गम जात्रा पनि यसैभित्र पर्छ । यो जात्रा नयाँ वर्षको भोलिपल्ट मनाइन्छ । 

महाकालीको मूर्तिलाई द्यो छेँबाट विमान आकारको खटमा राखी भोलाछेँबाट जात्रा सुरु गर्ने चलन छ । अर्कोतर्फ महालक्ष्मीको मूर्तिलाई पनि विमान आकारकै खटमा राखेर जात्रा सुरु गरिन्छ । यस अवसरमा सहभागीले एकातर्फ पहेँलो टोपी र अर्कोतर्फ रातो टोपी लगाउने परम्परा छ । ब्रह्मायणी र महेश्वरीको जात्रा त्यसको भोलिपल्ट मनाइन्छ । सूर्यमढीस्थित द्यो छेँमा रहेको ब्रह्मायणीको मूर्तिलाई खटमा राखी जात्रा सुरु हुन्छ । चिलाख र मुस्याख्य बत्ती बाली खटको अगाडि अगाडि स्थानीय हिँड्छन् । आआफ्ना इलाकामा जात्रा सुरु गरेपछि दत्तात्रय चोकको बिच भागमा आइपुग्दा भेट गराएर दुवैको रथ जुधाइन्छ । बिस्काःजात्राका अवसरमा अष्टमातृका देवदेवीको मात्र नभई भैरव र गणेशको पनि जात्रा हुन्छ । परदेशी भीमसेनको खटजात्रा, सगुनपूजा, छुमा गणेशको जात्रा र द्योसँग पूजा (सगुन जात्रा) लाई बिस्काःभित्रका महत्वपूर्ण जात्राका रूपमा लिइन्छ । बिस्काःको अन्तिम दिन गहिटीमा महत्वपूर्ण जात्राका रूपमा लिइन्छ । बिस्काःको अन्तिम दिन गहिटीमा रहेको भैरवको रथलाई माथ्लो टोलमा लगेर दिउँसो पाँचतले मन्दिरअगाडि पु¥याएपछि जात्रा सम्पन्न हुन्छ । 

जात्रैजात्रा मनाउनेको जिल्लाका रूपमा स्थापित छ– भक्तपुर । यहाँका बासिन्दा जात्रा नमनाई रहन सक्दैनन् । परम्परा र आधुनिक यी दुईको बिचमा रहेर आफ्ना मूर्तअमूर्त सम्पदा जोगाउँदै पनि छन् ।

मध्यपुर थिमि सहरका विभिन्न टोलका बाटोभरि र गालामा राताम्मे पारी सिन्दूर पोतेका जोसिला तन्नेरी र उस्तै जोसिला बूढापाका । धिमेबाजा, भुस्या, नायखिँ, छुस्या र अरू धेरै थरी बाजाको सुमधुर आवाज । सुमधुर आवाजका साथमा जात्रालुको उत्साह र उमङ्ग अनि दर्शकको अपार भिडमा सिन्दूर छ्यापाछ्याप गर्दै देवीदेवता विराजमान खटहरू बोकेर थिमी सहरका विभिन्न टोल परिक्रमा गर्नु सिन्दूरजात्राको मुख्य विशेषता हो । सिन्दूरजात्राको रौनक र थिमी सहरका उल्लास हरेक वर्ष वैशाख १ र २ गते हेर्न पाइन्छ । यस्तो जात्राले आपसमा एकता स्थापित गराउँछ ।

मूलतः वैशाख १ र २ गते दुई दिन चल्ने यो जात्रा निकै रोमाञ्चक हुन्छ । विभिन्न देवीदेवताका मूर्ति विराजमान खटलाई बोकेर बाजागाजासहित थिमी सहरका विभिन्न स्थानको परिक्रमा गराइन्छ । जात्रामा सहभागी जात्रालुबिच मैत्रीपूर्ण वातावरणमा सिन्दूर छ्यापाछ्याप गरेर खेल्ने खेलिन्छ ।

सिन्दूरजात्राको शुभारम्भ वैशाख १ गते सन्ध्याकालबाट हुन्छ । थिमीको सिद्धिकाली मन्दिरपरिसरबाट जात्राको उठान हुन्छ । यो दिन जात्रा सिद्धिकाली र विष्णुवीर (वैष्यवीदेवी) को नेतृत्वमा हुन्छ ।

जात्रा वैशाख १ गते राति ७–८ बजेसम्म जारी रहन्छ । दोस्रो दिनको जात्रा वैशाख २ गते बालकुमारी मन्दिरपरिसरबाट सुरु हुन्छ । विशेष गरी बालकुमारी माईको जात्रा हुने भएकाले यसलाई बालकुमारीको जात्रा पनि भनिन्छ । बालकुमारी मन्दिरपरिसरबाट सिन्दूरजात्राको क्रम पुनः उठान भएपछि खट बोकेर थिमीका विभिन्न टोलको परिक्रमा गराइन्छ । पहिले पहिले ३२ वटा खट हुन्थे । अहिले २० वटा मात्रै हुन्छन् । खट बोक्ने युवाको फूर्तिलो जोसलाई धिमे र भुस्या अनि नग्यखिँः र छुस्याःको सङ्गीतले साथ दिन्छ । हात हातमा चिराक बोकेका बुढापाकाको प्रदीप्त अनुहारले खट बोक्ने युवा र वाद्यवादकको उत्साह जगाइरहेको बुझिन्छ ।

भिडभित्रै एकआपसमा सिन्दूर दल्दै र छ्याप्दै अनि पर परसम्म सिन्दूरको उल्लासले हान्दै नाच्दै, रमाउँदै गरेका भेटिन्छन् तन्नेरीहरू । बाटोका दुवै किनारामा उभिएर भरपूर आनन्द लिन तल्लीन महिला, पुरुष, युवकयुवती तथा केटाकेटी भेटिन्छन् । साँच्चै जात्राको यो क्षण निकै रोमाञ्चक र अविस्मरणीय हुन्छ । विदेशी पर्यटकका क्यामराले जात्रामा संलग्न तन्नेरीले झ्याल झ्यालमा तरुनीलाई सिन्दूर छ्यापेको र जवाफमा तरुनीले पनि प्रेमपूर्वक उसै गरी सिन्दूर छ्यापेको दृश्य कैद गरिरहेको पनि देख्न पाइन्छ । यसरी यो जात्राको रौनक विदेशसम्म पनि पुग्छ । यति रमाइलो जात्रा कसले, किन र कहिलेदेखि चलाए होलान् ? जोकोहीको मनमा प्रश्न उठ्न सक्छ । यस्तो रमाइलो जात्रा अन्यत्र किन भएन, इच्छाको विषय पनि हो यो । यसबाट कर्म गर्न सक्नु पर्छ भन्ने थाहा हुन्छ । समाजमा सबै उमेरका एकैसाथ रमाउने वातावरणले आफ्नोपनको भावना विस्तार भएको पाइन्छ । यही भावनाले आजसम्म जात्रा चल्दै छ । यो जात्राको विस्तार जुन रूपमा भएको छ, त्यसैले त भन्न सक्छौँ– जात्रैजात्रा मनाउनेहरू छन् भक्तपुरमा । यसमा भावना छ– सामूहिक भावना । यहाँका मानिसमा एकआपसमा अपनत्वको भावना हुन्छ, भावना अनुसार सामूहिक कार्य गर्छन् । यसबाट कर्तव्य पालन गर्न सिकिन्छ । कर्तव्यपालनका क्रममा अपनत्व बढ्छ र एकआपसमा प्रेमिल भावनाले प्रश्रय पाउँछ । एक स्थानको सिको अर्को स्थानले गरेकै कारण त बनेको हो, जात्रैजात्रामा रमाउनेको भक्तपुर । 

थिमिका सामाजिक तथा सांस्कृतिक अन्वेषक गणेशराम लाछिका अनुसार थिमिका चाडपर्व तथा जात्राप्रिय जनताले कामबाट केही समय फुर्सद निकाली मनोरञ्जन गर्न सिन्दूरजात्रा मनाउन थालेका हुन सक्छन् । थिमिको सिन्दूरजात्रासम्बन्धी उपलब्ध आलेखमा पनि यो जात्रा कसले, किन र कहिलेदेखि चलाएको भन्नेबारे केही पाइँदैन । जात्रापर्व भनेका संस्कृति हुन् । संस्कृतिमा विधि र परम्पराको महत्व हुन्छ । त्यसैले संस्कृतिभित्र मिति, तथ्य र कारण खोजिरहनु पर्दैन । पुर्खाले जे चलन चलाए, त्यो हाम्रा लागि संस्कृति बन्यो ।

हामी जुन चलन चलाउँछौँ, त्यो हाम्रा सन्ततिका लागि संस्कृति बन्छ । संस्कृतिको विकास र विस्तार यसरी नै हुने गर्छ । यसमा तथ्य, कारण र मिति हुनु आवश्यक हुन्न । महत्वपुर्ण कुरा मौलिकपन रहेको संस्कृति नै हो । बाँकी रह्यो, संस्कृतिको इतिहास । त्यो गौण कुरा हो । ‘कामकुरो एकातिर कुम्लो बोकी थिमितिर’ भन्ने उखानले पनि थिमीमा हुने सिन्दूरजात्राको महिमा बढाएको छ । मानिस मनोरञ्जन चाहन्छ, काममा जोतिँदाजोतिँदै थाकेको तनमनमा ऊर्जाको काम गर्छ जात्राले । 

लोककल्याणका लागि, लोकको मनोरञ्जनका लागि लोकले पनि जात्रा चलाउँछन् । यसको उदाहरण हो, थिमिको सिन्दूरजात्रा । यसकारण जनताको हृदयबाट जयजयकार निस्कने गर्छ । भक्तपुरको बिस्काःजात्रा र थिमिको सिन्दुरेजात्राका क्रममा बोडेमा जिब्रो छेड्ने जात्रा पनि हुन्छ । हरेक वर्ष वैशाख २ गते जिब्रो छेडिन्छ । बोडेका २८ वर्षीय सुजन बाग श्रेष्ठले २०८० सालदेखि जिब्रो छेड्दै आउनुभएको छ । २०७९ सालसम्म उहाँकै पिता बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाउँदै आउनुभएको थियो । लिखित इतिहास नभए पनि बोडेको जिब्रो छेड्ने परम्परा प्राचीनकालदेखि चल्दै आएको हो र जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि के नखाई व्रत बस्नुपर्ने नियम छ । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनदेखि नै नुनसमेत नखाने कुराको जानकारी बुद्धकृष्ण बाग श्रेष्ठबाट प्राप्त भयो । व्रत बस्नेलाई जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडेक्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने गरिन्छ ।  एक महिनाअगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इन्च लामो सुइरोले जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर एक घण्टा नगर परिक्रमा गर्ने परम्परा छ । भक्तपुरमा मनाइने बिस्काःजात्रा, थिमिमा मनाइने सिन्दूरजात्रा र बोडेको जिब्रो छेड्ने जात्रालाई पनि प्रायः बिस्काःजात्राकै रूपमा लिने गरिएको छ । थिमिको जात्राको खास नाउँ ‘सिह्नाजात्रा’ अर्थात् सिन्दूरजात्रा भए पनि धेरैले यसलाई बिस्काःजात्रा नै भन्ने गर्छन् । भक्तपुरको बिस्काःजात्रा, थिमिको सिन्दूरजात्रा, बोडेको जिब्रो छेड्ने जात्राबिच कुनै सम्बन्ध छैन । उपत्यकाका कीर्तिपुर, टोखा, लुभु, हाँडीगाउँ, सुनाकोठी आदि स्थान विभिन्न समयमा झन्डै ५० वटा देवीदेवताको खटजात्रा अद्यापि छँदै छ । थिमिका जस्तै खटको सङ्ख्या चाहिँ घटेको हुन सक्छ ।

उपत्यकाका कीर्तिपुर, टोखा, साँखु, जोरपाटी, थानकोट, लुभु, हाँडीगाउँ, सुनाकोठी आदि स्थानका जात्रा पनि ती स्थानका आफ्नै मौलिक जात्रा र परम्परा हुन् । यी जात्राको कुनै सम्बन्ध अन्य जात्रासँग गाँसिएको छैन । प्राचीन परम्परा अनुसार कुनै ठुलो कार्य सिद्ध हुँदा सिन्दूरजात्रा गरी उत्सव मनाइने गरिन्छ । थिमिको जात्रामा पनि देवीदेवता विराजमान खटलाई सहर घुमाउने मात्रै नगरी भव्य रूपमा सिन्दूरजात्रा गरिने प्रचलनले गर्दा यसपछाडि कुनै ठुलो धार्मिक, सांस्कृतिक र दैवी अथवा जैविक कार्यसिद्धिको मिथक जोडिएको हुन सक्ने अनुमान गर्न सकिन्छ । यति विशाल जात्रा आमोदप्रमोदका लागि मानिसको लहडबाजीले मात्र सुरु भएको पक्कै होइन भन्ने अनुमान गर्न सकिन्छ ।

थिमिको सिन्दूरजात्रा र बोडेको जिब्रो छेड्ने जात्राको कारण खोजी गरिनु उचित नै देखिन्छ । सिन्दूरजात्रा थिमिको र जिब्रो छेड्ने जात्रा बोडेको प्रमुख परिचय बनिसकेको छ । त्यसैले थिमि र बोडेका जनताले सिन्दूरजात्रा र जिब्रो छेड्ने जात्रालाई आफ्नो परिचय र मौलिक संस्कृतिका रूपमा गर्व गर्न पाएका छन् । नेवारको जातीय विशेषता नै हो, जात्रा । तिथि अनुसार महिनैपिच्छे जात्रा तथा चाडपर्व मनाउनु नेवारको जातीय पहिचान र जातीय विशेषताकै रूपमा रहिआएको छ । यो पहिचान र विशेषता कायम राख्न र आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिन अनि यसलाई जीवन्त राख्न युवापुस्तामा देखिएको उत्साह र जाँगर सराहनीय छ, प्रशंसनीय छ । युवापुस्ता उत्साहित एवं जाँगरिला भए संस्कृति र परम्परा टिक्ने मात्र होइन, फैलिन्छ पनि । यसको मूल्य खोज्न थालिए त्यहाँ स्वार्थले प्रश्रय पाउँछ, अवश्य नै यस्तो स्थिति आए परम्परा लोप भएर जान्छ ।  साभार गोप