६ आश्विन २०८१, आइतबार 1727021134
Banner

१६ नम्बर वडाका वडाध्यक्ष रिजाल निवासमा काठमाडौं महानगर प्रमुख शाहको ‘लन्च मिटिङ’

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरको काम कारबाहीलाई सहज बनाउने उद्देश्यका साथ वडा अध्यक्षहरूसँग छलफल गर्न थाल्नु भएको छ । यसैसन्दर्भमा आज मेयर शाहले वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालसँग भेट गर्नु भएको छ ।  

वडा नम्बर १६ का अध्यक्ष रिजालकै घर बालाजुमा भेट्न पुग्नुभएका शाहले फोहोर व्यवस्थापनका साथै महानगरको काम कारवाही बारे सुझाव माग्नु भएको थियो । शाहले रिजालको कार्यशैलीबाट आफु प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरेको बताउनु भएको थियो ।

कलाकार अर्जुन घिमिरे (पाँडे) सँगै रिजालको निवास पुग्नुभएका शाहले झन्डै दुई घन्टा बिताउनु भएको थियो । लन्चसहितको सो मिटिङमा रिजालले फोहोर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गर्दै मेयरलाई सघाउन आफुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भयो । यस्तै उहाँले आफुले पार्टीभन्दा माथि उठेर मेयरका जनमुखी र जायज अभियानमा सहयोग गर्ने पनि बताउनु भयो ।

वडाअध्यक्ष रिजालले भन्नुभयो, ‘नगर प्रमुखज्युसँग छलफल भएको हो, महानगरपालिका केन्द्रित छलफल भयो ।’